२०८१ मंसिर ७, शुक्रवार , ०९:२७:५५ बजे

Sajhamanch
'

कमल गाउँपालिकाका गर्भवती महिलालाई भिडिओ एक्स–रे सेवा निःशुल्क

मङ्गलवार, साउन १५, २०८१

कमल । कमल गाउँपालिकाभित्र रहेका गर्भवती महिलाले अब प्रत्येक महिना आफ्नै वडाबाट भिडिओ एक्स–रे सेवा निःशुल्करुपमा पाउने भएका छन् ।

स्थानीय सरकार मातहतका स्वास्थ्य संस्थाहरुबाट तालिका अनुसार फरक–फरक मितिमा निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराउने तालिका समेत सार्वजनिक गरिएको छ ।

सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिनाको १७ देखि २५ गतेसम्म आलोपालो प्रणालीमा यो सेवा सञ्चालन हुनेछ ।

भिडियो एक्स–रे जाँचका लागि गाउँपालिका अन्तर्गतको कमल नगर अस्पतालबाट जनशक्ति तथा प्राविधिक सेवा उपलब्ध हुने उनले जानकारी दिए ।

गर्भवती अवस्थामा हुने स्वास्थ्य समस्यालाई बेलैमा पहिचान गरी उपचारमा प्रेरित गर्न भिडियो एक्स–रे लगायत यस किसिमको निःशुल्क स्वास्थ्य सेवा विस्तार गरिएको उनले बताए ।

ढकालका अनुसार कमल–७ मा हरेक महिनाको १७ गते, ६ नं. वडामा १८ गते, २० गते कमल ५ को सिम्लेस्थित आधारभूत स्वास्थ्य केन्द्र, २१ गते कमल–५ कै आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइनेछ ।

त्यसैगरी, कमल–४ को स्वास्थ्य केन्द्रमा २२ गते, २३ गते कमल–३ को स्वास्थ्य केन्द्र, २४ गते कमल–२ को कमल नगर अस्पताल र २५ गते कमल– १ को स्वास्थ्य केन्द्रमा उक्त सेवा उपलब्ध हुने सार्वजनिक तालिकामा उल्लेख छ ।

सो कार्यक्रम १७ साउनमा वडा नं. ७ को आधारभुत स्वास्थ्य केन्द्रबाट सुरु गरी तोकिएको तालिका अनुसार २५ गते सम्ममा सबै वडामा प्रदान गरिने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

उक्त समयमा सम्बन्धित वडा भित्रका लक्षित महिलाहरुलाई निसंकोच सो सेवा सुविधा लिन गाउँपालिकाबाट सूचित गरिएको अध्यक्ष राईको भनाई छ ।

पालिकाले गर्भवती महिलाका लागि यसअघि अस्पतालसम्म उपचारका लागि एम्बुलेन्स समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । गर्भवती महिलाको सुरक्षित प्रजनन अधिकारलाई सहज बनाउन उक्त कार्यक्रम सुरु गरिएको हो ।

सो कार्यक्रमबाट गर्भवतीका कारण अकालमा हुने स्वास्थ्य जोखिममा समेत सुधार आउने अपेक्षा पालिकाको छ । पालिकाले दुई वर्ष अघिमात्र स्वास्थ्य बीमासहितको कमल नगर अस्पतालले स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालमा दैनिक २ सयको हाराहारीमा सेवाग्राही स्वास्थ्य जाँच गर्न आउने गरेका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दीपक दाहालले बताए ।