बिर्तामोड । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाका टेकनाथ सोरेनले सन्थाल समुदायतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएका छन् ।
२०८० को एसईईमा ३.८२ जीपीए अंक प्राप्त गरेर उनी सीमान्तकृत सन्थाल समुदायबाट एसएलसी/एसईई इतिहासमा उच्च अंक ल्याउने विद्यार्थी बनेका हुन् ।
झापाको बाह्रदशी गाउँपालिकास्थित गौरीशंकर माविका छात्र सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुने प्रधानाध्यापक लेखनाथ कटुवालले बताए ।
२०६५ साउन ३० गते जन्मिएका उनी विद्यालयका अनुशासित, मेहनती र नियमित विद्यालय आउने विद्यार्थी भएका प्रधानाध्यापक कटुवालले जानकारी दिए । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेन बताउँछन् ।
बाह्रदशी–६ डाँगीबारीका टेकनाथका बुवा राजिन्दर र आमा उषा खेतीपाती र दैनिक ज्यालादारीमा काम गर्ने मजदूर हुन् ।