काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दुग्ध पदार्थ उत्पादक किसानलाई निजी र सरकारी निकायले तिर्न बाँकी बक्यौता दिने वातावरण तत्काल बनाउन माग गरेको छ ।
दुग्ध किसानले बुधवार बिहान बक्यौता भुक्तानी तत्काल दिन माग गर्दै दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय घेराउ गरेका थिए । त्यसक्रममा प्रहरीले उनीहरूमाथि धरपकड गरी ४५ जनाबढी किसानलाई पक्राउ समेत गरेको थियो ।
बुधवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रहरीले दुग्ध किसानमाथि आज गरेको व्यवहार अमर्यादित भएको बताए । उनले किसानहरूले भुक्तानी नपाउँदा उनीहरू पीडित बनेको बताए ।
“किसानले सरकार र निजी डेरीहरूलाई दुग्ध पदार्थ बेच्नुभयो, दूध बेचेको रकम भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे” उनले भने, “दुग्ध विकास संस्थान र निजी डेरीहरूले ५ देखि ६ अर्ब किसानहरूलाई तिर्नुपर्ने छ, भुक्तानी नपाउँदा उहाँहरू पीडित हुनुहुन्छ, गाई वस्तुलाई पिठो र दाना किन्न सक्ने अवस्था समेत किसानको छैन ।”