बिर्तामोड । बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा मंगलवार बालुवाटारमा बसेको आयोगको १४ औं बैठकले अदालतको परमादेश अनुसारनै बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतबाटै परमादेश आइसकेकाले उक्त निर्णयको सम्मान गर्दै अघि बढ्नुपर्ने तर्क प्रधानमन्त्रीले गरेपछि सदस्यले पनि सहमति जनाएका जनाइएको छ ।
बालुवाटारमा बसेको आयोगको १४ औँ बैठकको प्रमुख एजेण्डा नै त्यही विषय रहेको बताइएको छ । बैठकमा आयोगका सह–अध्यक्षहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो ।
सो परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिशसहितको पत्र पठाएको छ ।
बीएण्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माण लगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो ।
ऐनको त्यही व्यवस्थाअनुसार सम्बन्धन पाउन बीएण्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो । तर, त्यसबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धनका लागि स्वीकृति दिन अस्वीकार गरेको थियो ।