२०८२ साउन ४, आइतवार , ०२:२९:१६ बजे

Sajhamanch
'

यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने अनुमान

मङ्गलवार, वैशाख ११, २०८१

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले विश्वव्यापी आर्थिक मन्दीका बाबजुद यो वर्ष अर्थात् सन् २०२४ मा विद्युतीय गाडीको बिक्रीमा ठूलो वृद्धि हुने बताएको छ । यो वर्ष विश्वभर एक करोड ७० लाख वटा विद्युतीय गाडीको बिक्री हुने आईईएले अनुमान गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको वर्ष एक करोड ४० लाख वटा कार बिक्री भएका थिए । यो वर्ष विश्वव्यापी रूपमा बिक्री हुने पाँच वटामध्ये कम्तीमा कार विद्युतीय हुने र यसले सडक यातायातका लागि तेलको मागलाई कम गर्ने खबरमा उल्लेख छ । विद्युतीय कारको बिक्रीसँगै भरपर्दो बिजुली र चार्जिङ पूर्वाधार भविष्यका लागि निकै महत्त्वपूर्ण हुने आईईएले जनाएको छ ।

गएको वर्षको तुलनामा यस वर्षको पहिलो त्रैमासमा विद्युतीय कारको बिक्री २५ प्रतिशतले बढेको छ । सन् २०२० को पूरै वर्षभरि बिक्री भएका विद्युतीय कारको सङ्ख्या जति यो वर्षको तीन महिनामै बिक्री भएको रिपोर्टमा उल्लेख छ ।

विद्युतीय गाडी सबैभन्दा धेरै बिक्री हुने देश चीन बनेको छ । अमेरिकामा नौ वटामध्ये एउटा र युरोपमा चार वटामध्ये एउटा कार विद्युतीय कार बिक्री भएका छन् । तर चीनमा भने पेट्रोलियम इन्धन र विद्युतीय गाडीको बिक्रीदर आधा/आधा रहेको छ ।

ब्याट्रीको मूल्यमा कमी आउँदा विद्युतीय गाडीको भाउ पनि घट्दै गएको छ । बजारमा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दा उपभोक्ताले सस्तोमा विद्युतीय कार पाउन थालेका खबरमा उल्लेख छ ।

सम्बन्धित खबर