
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्ष आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गर्नुभएको छ । निसिओ विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन र ग्वाङ्झे चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुनुहुन्छ । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीमा रहेको विश्व बैंक मुख्यालयमा गएराति भेट गर्नुभएको हो ।
यस्तै अर्थमन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेट गर्नुभएको छ । आउँदो जुनमा काठमाण्डौमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१ औं बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकोमा अर्थमन्त्री पुनले विश्व बैंक उपाध्यक्ष निसिओलाई धन्यवाद दिनुभयो ।
विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उहाँको भनाई छ । उहाँले आउँदा दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल पनि गर्नुभयो ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन सोमवार बिहान अमेरिका जानुभएको हो ।