२०८२ पौष २७ आइतवार , ०३:००:१३ बजे

Sajhamanch
'

आईपीएलमा आज : अपराजित राजस्थानलाई सङ्घर्षरत बैंग्लुरुको चुनौती

शनिवार, चैत २४, २०८०

काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको १९औं खेल आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

गत वर्ष जयपुरमा दुवै टोली भिड्दा घरेलु टोली ५९ रनमा अलआउट भएको थियो । यस सिजन भने राजस्थानले तीनवटै खेल जितेको छ । अर्कोतर्फ, बैंग्लुरुले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ ।

हेड टु हेडमा बैंग्लुरु अगाडि
आईपीएलमा राजस्थान र बैंग्लुरुबिच ३० खेल खेलिएका छन् । राजस्थान १२ मा र बैंग्लुरु १५ खेलमा विजयी भएको छ । यी दुईबिचको ३ खेलको कुनै नतिजा निस्कन सकेन । दुई टोलीबिच जयपुरमा ८ खेल भएका छन् जसमा दुवैले ४–४ ले जितेका थिए ।

गत वर्ष लिग चरणको ५९ औँ खेल यी दुईबिच जयपुरमा भएको थियो । पहिले ब्याटिङ गरेको बैंग्लुरुले २० ओभरमा १ सय ७१ रन बनाएको थियो । राजस्थानको टोली ५९ रनमा नै अलआउट भयो ।

पराग दोस्रो सर्वाधिक रन बनाउने खेलाडी
राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै सिजनको सुरुवात गरेको थियो । दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको थियो भने तेस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई ६ विकेटले हरायो ।

मध्यक्रमका ब्याट्सम्यान रियान पराग यस सिजन टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी तथा लिगको दोस्रो सर्वाधिक स्कोरर हुन् । उनीभन्दा अगाडि विराट कोहली छन् । परागले ३ खेलमा १८१ रन बनाएका छन् । जसमा दुई अर्धशतक पनि सामेल छन् ।

दिल्लीविरुद्ध ८४ रनको अविजित इनिङका लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए। टोलीका लागि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ६ विकेट लिएका छन् ।

कोहली सिजनको सर्वाधिक स्कोरर
यस सिजन बैंग्लुरुको खराब फर्म जारी छ। टोलीले चारमध्ये एक खेल मात्र जित्न सकेको छ । टोली पहिलो खेलमा चेन्नईसँग पराजित भएको थियो । दोस्रो खेलमा बैंग्लुरुले पञ्जाबलाई पराजित गरेको थियो । टोलीले तेस्रो खेलमा कोलकाता र चौथो खेलमा लखनउसँग हार बेहोरेको थियो ।

स्टार ब्याट्सम्यान विराट कोहली यो सिजन सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले ४ खेलमा २०३ रन बनाएका छन् । बलिङमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले चार खेलमा चार विकेट लिएका छन् ।

पिच रिपोर्ट
जयपुरको सवाई मानसिंह स्टेडियमको पिच सामान्यतया ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ। खेलको प्रारम्भिक ओभरमा फास्ट बलरहरूले सहयोग पाउने अपेक्षा गरिएको छ।

यस स्टेडियममा अहिलेसम्म ५४ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ३४ खेल जितेका छन्।

मौसमको अवस्था
खेलको दिन जयपुरमा मौसम निकै तातो हुनेछ। शनिबार यहाँको तापक्रम २३ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहनेछ। वर्षाको सम्भावना छैन। हावाको गति ९ किलोमिटर प्रतिघण्टा रहनेछ ।

दुबै टोलीको सम्भावित प्लेइङ-११

राजस्थान रोयल्स : सञ्जु सैमसन (विकेटकिपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान।

इम्प्याक्ट प्लेयर : शुभम दुबे, सन्दीप शर्मा।

रोयल च्यालेन्जर्स बैंग्लुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, रीस टोपले, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर : महिपाल लोमर।

सम्बन्धित खबर