२०८३ जेठ ७ बिहिवार , ०५:०३:०३ बजे

Sajhamanch
'

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची संसदीय क्यालेन्डरबाट गायब भएको छ ।

गत वैशाख २४ गते अद्यावधिक राष्ट्रिय सभाको बैठकको सम्भावित कार्यसूचीमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने विषय छ । जसअनुसार बिहीबार बैठक बसेको भए सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत गर्ने कार्य अगाडि बढ्ने थियो ।

तर, अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची हटाएर संसद् सचिवालयले नयाँ क्यालेन्डर ल्याएको छ । यही जेठ ५ गते अद्यावधिक क्यालेन्डरमा बिहीबारका लागि बैठक नै राखिएको छैन । जेठ १५ गतेसम्मको तय भएको क्यालेन्डरमा कुनै दिन पनि अध्यादेश अगाडि बढाउने विषय समावेश छैन ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया सुरुमा तय भएअनुसारको बैठक बस्ने दिन नै संशोधन भएको बताउँछन् । उनले भने, ‘हिजो र आज पनि बैठक थियो । दुवै दिनको बैठक स्थगन भयो । यो सँगै तय भएको अध्यादेश अगाडि बढाउने कार्यसूची पनि स्थगन भयो ।’

राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेल सरकारले तयारी गरेपछि अध्यादेशको विषय अगाडि बढ्ने बताउँछन् ।

उनले भनेका छन्, ‘अध्यादेशको विषय अगाडि बढाउन सरकार तयार भएन । सरकारको तयारी नपुगेका कारणले हाललाइ स्थगन भएको हो ।’

संसद् अधिवेशन नरहेका बेला सरकारले आठ वटा अध्यादेश ल्याएको थियो

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो ।

सम्पत्र् िशुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशसहकारी (पहिलो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश आएको छ ।

यी अध्यादेशहरू संघीय संसद् अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भइसकेका छन् । गत वैशाख २८ गते यी अध्यादेश दुवै सदनमा पेश भएका हुन् । अब दुवै सदनले स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्नुपर्छ ।

संविधानको धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था छ । उपधारा २ को (क) मा भनिएको छ, ‘जारी भएपछि बसेको संघीय संसद्को दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतस् निष्क्रिय हुनेछ ।’

यसअनुसार दुवै सभाले अध्यादेशहरू स्वीकृत गर्नुपर्छ ।

राष्ट्रिय सभामा सत्तारुढ रास्वपाको उपस्थिति छैन । ५९ सदस्यीय सभामा कांग्रेस २४ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । जहाँ नेकपाका १७, नेकपा एमालेका १०, जसपाका २, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक जना र राष्ट्रपतिबाट मनोनित दुई जना सांसद रहेका छन् ।

विपक्षी दलहरूले ‘अध्यादेश अस्वीकृत गरियोस्’ भन्ने सूचना समेत दर्ता गरेका छन् ।

नेकपा एमालेले आठ वटै ‘अध्यादेश अस्वीकृत गरियोस्’ भनेर सूचना दर्ता गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले चार र नेपाली कांग्रेसले दुई वटा अध्यादेश अस्वीकृत गरियोस् भन्ने सूचना दर्ता गराएको छ ।

कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकलाई मात्र अस्वीकार गर्नेगरी सूचना दर्ता गराएको हो ।

नेकपाले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति र विश्वविद्यालयसम्बन्धी अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दर्ता गराइएको छ ।

यसउपर निर्णय लिने गरी राष्ट्रिय सभाले जेठ ७ गते अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने गरी तय गरेको संसदीय क्यालेन्डर अन्तिम समयमा संशोधन भएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट अध्यादेश स्वीकृत भएपछि मात्रै सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला हुनेछ । प्रतिनिधिसभामा पनि अध्यादेश अगाडि बढाउने विषय आएको छैन ।

प्रतिनिधिसभाले असार १५ गतेसम्मको संसदीय क्यालेन्डर ल्याएको छ । जसमा अध्यादेश अगाडि बढाउने विषय नपरेको हो ।

प्रतिनिधिसभामा अध्यादेश अगाडि बढाउने विषय नआएका कारण राष्ट्रिय सभाले सम्भावित कार्यसूची तय भइसकेको भएपनि संसदीय क्यालेन्डरबाट हटाएको हो ।

अब अध्यादेश कहिले अगाडि बढ्छ भन्ने विषय सरकारकै निर्णयमा भर पर्ने नेताहरू बताउँछन् ।

सम्बन्धित खबर