२०८१ मंसिर १३, बिहिवार , ०३:१७:२७ बजे

Sajhamanch
'

जेठसम्म अत्यधिक चट्याङको जोखिम

आइतवार, चैत १८, २०८०

काठमाडौं । शनिबार बेलुका काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित चट्याङ परेपछि जनजीवन अस्तव्यस्त बन्यो । स्थानीय वायुको प्रभावसँगै ‘लोकल सिस्टम’ थपिँदा काठमाडौंसहितका स्थानमा वर्षा भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । यो प्रणाली विस्तारै पूर्वतिर लागेको उनले बताए ।

“स्थानीय वायुको प्रभाव त छँदै छ, लोकल सिस्टम पनि डेभलप भयो,” उनले भने, “पोखरामा बनेको यो सिस्टम त्यहाँदेखि यता आयो । यो सर्दै पूर्वतिर जाने देखिन्छ ।

उनका अनुसार, लोकल सिस्टम छोटो अवधिमा विकास हुन्छ । छोटो समयमै यो कमजोर हुने उनले बताए । अहिले प्रिमनसुनको समय भएकाले लोकल सिस्टम अरूजस्तो धेरैअघि संकेत देखिँदैन । केही समयमै बनेर एक–डेढ घण्टामै निष्क्रिय हुन्छ ।

प्रिमनसुनमा शनिबारको जस्तो ‘एक्कासि’ हावाहुरी, मेघगर्जन र चट्याङ र वर्षा हुने उनले बताए । यो नै प्रिमनसुनको ‘नेचर’ भएको उनको भनाइ छ ।

प्रिमनसुन मनसुन सुरु हुनुभन्दा पहिलेको समय हो । प्रिमनसुनमा यस्ता गतिविधि सामान्य रहेको महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्रिमनसुन समय मान्ने गरिन्छ ।

मौसम विज्ञान विभागले हरेक दिन जारी गर्ने बुलेटिनमा चट्याङबाट जोगिन आग्रह गर्ने गरेको छ । मेघ गर्जनसहित चट्याङको सम्भावना रहेको र यसबाट जोगिन सतर्क रहन विभागले आग्रह गर्दै आएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङको जोखिमबाट बच्न सावधानी अपनाउन अनुरोध गर्दै आएको छ ।

चट्याङबाट जोगिन विभिन्न उपायहरू अपनाउन सकिने प्राधिकरणले बताएको छ ।

“चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट हो । यसबाट हाम्रा घरहरूलाई धातुका सामग्री प्रयोग गरी सुरक्षित बनाउन सकिन्छ । तामा, आल्मुनियम तथा जीआईका रडक घरको सबभन्दा अग्लो भागमा राख्ने अनि सोही धातुका रड वा पाता जोडेर जमिनसम्म र्पुयाउने र तामाको रडसँग जोडी अर्थिङ गरिए धेरै हदसम्म घरहरू सुरक्षित हुन्छन्,” प्राधिकरणले भनेको छ ।

यस्तै, चट्याङबाट सुरक्षित रहन गड्याङगुडुङ गरेका बेला घरबाट बाहिर ननिस्कने र घरबाहिर भएमा तुरुन्त घरभित्र वा सुरक्षित स्थानमा जानुपर्छ । प्राधिकरणका अनुसार चट्याङबाट जोगिन पक्की घर, बस, भ्यान आदि सुरक्षित स्थान हुन् ।

तर, यस्ता सुरक्षित स्थान पुग्ने अवस्था नरहेमा अग्लो र एक्लो रुखको ओत लाग्न नहुने प्राधिकरणले जनाएको छ । बरु, रुखदेखि टाढा टुक्रुक्क बस्नुपर्छ । खुला चौरमा परेमा टुक्करुक्क बसी टाउकोलाई दुई घुँडाको बीच राखी कान थुन्न प्राधिकरणको सुझाव छ ।

प्राधिकरणका अनुसार घरभित्र रहँदा पनि झ्याल, ढोका बन्द गरी कोठाको बीचमा बस्नुपर्छ । टीभी, वासिङ मेसिन, फ्रिज तथा अरू विद्युतीय सामग्रीका तारहरू प्लगबाट छुटाउनुपर्छ ।

यस्तै, गड्याङगुडुङका बेला पानीका स्रोतमा सीधै नुहाउने, धुने नगर्ने र टेलिफोनमा कुरा गर्न नहुने प्राधिकरणले जनाएको छ । चट्याङ चैतदेखि जेठ महिनासम्म अत्यधिक पर्छ । तर, अरु समयमा पनि पर्ने प्राधिकरणको भनाइ छ ।

“सबैभन्दा महत्वपूर्ण कुरा चट्याङ अपराह्न ३ बजेपछि पर्ने हुनाले घरबाहिरका काम बिहानको समयमा गरी साँझपख घरभित्रका काम गर्नुपर्छ,” प्राधिकरणको सुझाव छ ।

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१