
काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाखजना रहेको देखिएको छ । जसमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
कार्यालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कूल जनसंख्याको १५ दशमलव ३ प्रतिशत हो ।
शहरभन्दा ग्रामीण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्यांकमा देखिन्छ । घर छाडेको जनसंख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्यांक छ ।
कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्यांकहरु आइतबार सार्वजनिक गरेको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरु देखिन्छन् ।
तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१ दशमलव ६ र पहाडबाट २० दशमलव ३ प्रतिशत घरमा ६ महिनाभन्दा लामो समय नबसेको देखिएको छ ।
घर छाड्नेमा पुरुषको जनसंख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरुको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ ।