२०८२ साउन १८, आइतवार , ०१:४४:५८ बजे

Sajhamanch
'

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

सोमवार, फागुन २१, २०८०

काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो भने नयाँलाई स्वागत गरिएको थियो ।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन एकजना बाँकी छन् ।

१९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ । आज सपथ लिएका राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरू रुकमिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत र मनरुपा शर्मा हुन् ।

यस्तै पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाय, रेनु चन्द, नारायणदत्ता भट्ट र बलदेव बोहराले पनि आजदेखि राष्ट्रियसभाको यात्रा सुरु गरेका छन् ।

सम्बन्धित खबर