२०८१ मंसिर १०, सोमवार , ०८:१९:१३ बजे

Sajhamanch
'

अमेरिकामा नेपाली विद्यार्थीलाई सकस, काम पाउनै कठिन

सोमवार, माघ १५, २०८०

अमेरिका । सुमन अवस्थी (नाम परिवर्तन) अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी हुन् । अमेरिकाभन्दा बाहिरबाट आउने विद्यार्थीलाई यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीको सूचीमा राखिन्छ ।

६ महिनाअघि अर्कान्ससको एउटा युनिभर्सिटीमा अध्ययनका लागि आएका उनी त्यहाँ काम पाउन नसकेपछि दुई महिना अघि टेक्सस सरे । “टेक्सस सरेको पनि दुई महिना हुनै लाग्यो, काम खोज्दा खोज्दा हैरान भएर म त फ्रष्टेसनमा गैसकेको छु,” शनिबार उनले दुःखेसो पोखे ।

आर्या गुप्ता (नाम परिवर्तन) एक वर्ष अघि मिजौरीको एउटा युनिभर्सिटीमा आएकी हुन् ।

त्यहाँ एउटा भारतीय रेष्टुँरामा हप्ताको २०–२५ घण्टा काम गर्थिन् । त्यहाँ काम गरेर आउने पारिश्रमिकले कलेज फि, अपार्टमेन्टको भाडा, खाना खर्चसमेत तिर्न नपुगेपछि डेढ महिनाअघि ड्यालस सरिन् ।

“मिजौरीमा हुँदा ड्यालसमा भनेजति घण्टा काम पाइन्छ भन्ने साथीहरुको भनाईमा लागेर यता आएँ । तर यता त कामै पाउन सकेको छैन,” उनले भनिन् ।

“काम खोजिदिनुस् न है । मलाई ठूलो गुन लाग्नेछ । यो गुनलाई कहिल्यै भुल्नेछैन,” उनले संवाददातासँगै अनुरोध गर्दै भनिन् । सुमन र आर्या दुई उदाहरण मात्र हुन् । यतिखेर अमेरिकामा अध्ययनका लागि आएका सयौँ नेपाली विद्यार्थीहरु काम नपाएर असाध्यै भौतारिइरहेका छन् ।

चिनेजानेकामार्फत् हुन्छ कि साथीभाई आफन्तको सम्पर्कबाट हुन्छ काम खोज्न उनीहरुको दौडधूपको पीडा वर्णन गरिसाध्य छैन । पढ्न आएका विद्यार्थीहरु काम खोज्ने तनावमा कलेज जानसमेत छाड्ने अवस्था उत्पन्न भइरहेको छ ।

अमेरिकामा अध्ययनका लागि आउने अधिकांश नेपाली विद्यार्थीहरुको योजना हुन्छ–कमाउँदै, कलेजको शुल्क तिर्दै पढ्ने ।

नेपालबाट खर्च ल्याएर थेग्न सक्ने विद्यार्थी एक प्रतिशत पनि भेटिँदैनन् । युनिभर्सिटीको शुल्क, अपार्टमेन्ट, गाडी भाडा, खानासमेत गर्दा प्रतिमहिना कम्तिमा पनि तीनदेखि चार हजार प्रति विद्यार्थी खर्च लाग्छ । अझ युनिभर्सिटी भएको स्थान हेरेर यो भन्दा अझै बढी पनि हुन्छ । नेपालमा एक लाख ३४ हजार सटही गर्दा बल्ल एकहजार डलर हात पर्छ ।

तीन देखि चारहजार डलरका लागि कम्तिमा पनि मासिक साढे चारदेखि ६ लाख नेपाली रुपैयाँ खर्च गर्नसक्ने अभिभावकहरु नेपालमा कमै छन् । “पहिले हामीले काम गर्ने मान्छे खोज्दा नपाएर डेढ दुई महिनासम्म आफँै स्टोरमा खटिनुपर्थ्यो । अहिले दिनमा ५ देखि ६ वटा टेलिफोन कल कामकै लागि भनेर आउने गरेको छ,” ड्यालसका व्यवसायी बलराम पौडेलले भने ।

पौडेलका अनुसार पहिले काम गर्ने विद्यार्थीहरु कतै २५ सेन्ट बढी मिल्यो भने काम छोडेर त्यतै जाने प्रवृत्तिले गर्दा स्टोर, ग्यास स्टेशनमा काम गर्ने मान्छेहरु खाली भैरहन्थ्यो ।

तर अहिले युनिभर्सिटीबाट ग्राजुयट भएका विद्यार्थीसमेत अध्ययनअनुसारको काम नपाउँदा ग्यास स्टेशन, स्टोरमै काम गरेर बसिराखेका छन् । पहिले ग्राजुयट भएपछि उनीहरु पढाईअनुसारको काम पाएर अर्कै स्टेट, अन्यत्र जाने कारणले नयाँनयाँ मान्छेहरु आवश्यक परिरहन्थ्यो ।

तर विगत एकवर्षदेखि अमेरिकी अर्थतन्त्रमा देखिएको संकुचन, रोजगारीमा भएको व्यापक कटौती, बढ्दो मूल्यवृद्धिले गर्दा रोजगारीका नयाँ अवसर ठप्पजस्तै छ । टेक्ससमा मात्र होइन सूचना प्रविधिको राज्य क्यालिफोर्नियामा पनि नेपाली विद्यार्थीले काम नपाएको पीडा उस्तै छ ।

“काम मिलाइदिनुप¥यो भन्दै दिनमा दर्जनौँ फोन कल आउँछन् । सबैतिर निकै टाइट छ अवस्था । विद्यार्थीहरुले काम पाउने रेष्टुँरा, फुड डेलिभरि, स्टोरमा पछिल्ला समयमा रोजगारी ठप्प जस्तै छ,” सानफ्रान्सिस्कोस्थित नेपालीहरुको संस्था न्यान्सका अध्यक्ष प्रितेस कार्कीले भने ।

सुरुमा अधिकांश नेपाली विद्यार्थीहरु गाउँ वा अमेरिकाका साना राज्यहरुका युनिभर्सिटीमा आउँछन् । एक सेमेष्टर (६ महिना) पूरा गरेपछि काम पाइने सम्भावना भएका टेक्सस, ओक्लाहोमा, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनियाजस्ता राज्यका कम्युनिटी कलेजमा सर्ने चलन देखिन्छ ।

ती राज्यहरुमा नेपालीलगायत दक्षिण एसियाबाट आएका आप्रवासी, मध्यपूर्बबाट आएका आप्रवासीहरुका स्टोर, ग्याँस स्टेशन, रेष्टुराहरुमा विगतमा काम मिल्थ्यो पनि। अन्तर्राष्ट्रिय विद्यार्थीहरुसँग कलेज वा युनिभर्सिटी भन्दा बाहिर काम गर्ने अनुमति हुँदैन ।

त्यसोहुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई रोजगारदाताले काम दिन मान्दैनन् । उनीहरुलाई काम दिँदा रोजगारदातासमेत कानुनी फन्दामा पर्ने हुँदा अमेरिकीहरुले काम दिँदैनन् । दक्षिण एसियाली, मध्यपूर्वका आप्रवासीद्वारा सञ्चालित व्यवसायमा भने उनीहरुले नगदमा भुक्तानी गर्नेगरि भित्री रुपमा काम दिन्छन् । त्यो पनि अरुलाई भन्दा सस्तो पारिश्रमिक दिएर ।

“पहिले पहिले मैले धेरै विद्यार्थीहरुलाई मिडल इष्टका लगानीकर्ताका रेष्टुराँ, फुड डेलिभरी, स्टोरमा काम मिलाइदिएको थिएँ । तर अहिले ती सबै ठाउँ ठप्प छ,” न्यान्स अध्यक्ष कार्कीले भने । नेपाली विद्यार्थीहरु इमान्दार, बढी खट्न सक्ने, ओभरटाइम जतिसक्दो गर्न लालायीत हुने कारणले गर्दा रोजगारदाताको रोजाईमा छन् ।

विद्यार्थीहरुले काम नपाएर हाहाकार हुनुमा अवैध रुपमा मेक्सिको हुँदै आएका आप्रवासी पनि एउटा कारण भएको ठहर व्यवसायीहरुको छ । “अस्तिमात्रै खोला तरेर आएको दुईजना मेरो स्टोरमा आएर काम चाहियो भन्दै रुँदै थिए,” ड्यालसकै एक व्यवसायीले नाम सार्वजनिक नगर्ने शर्तमा भने ।

नौ महिना लगाएर कोलम्बिया, पानामाको बाटो हुँदै मेक्सिकोबाट अमेरिका पसेका ती व्यक्ति घण्टाको ८ डलरमा भए पनि काम गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि उनले बताए । स्रोतका अनुसार अमेरिका–मेक्सिको सीमानाको रियोग्राण्दे नदी पार गरेर आएका नेपालीहरुको एउटा ठूलो समूह टेक्ससको राजधानी अस्टिनमा छ ।

एउटै अपार्टमेन्टमा १२ देखि १५ जनासम्म उनीहरु बसिरहेको र ती मध्य ३–४ जनाले मात्र काम गरेर बाँकी बेरोजगार छन् । ड्यालस आइपुगेका त्यही समूहका केही व्यक्तिहरु समेत छिटपुट रुपमा आफन्त, चिनजानका मानिसहरुको घर, अपार्टमेन्टमा बसेर कामको खोजीमा छन् ।

“काम खोज्ने विद्यार्थीहरुलाई सकेसम्म सहयोग गरिरहेको छु । तर यति धेरै विद्यार्थी छन् कि काम खोजेर, मिलाइदिनै नसक्ने अवस्था देखिएको छ,” एनआरएनएन अमेरिकाका पूर्वसचिव अमृत (सुरेश) कट्टेल भन्छन् ।

ओक्लोहामा राज्यमा मोटल, ग्याँस स्टेशनहरु सञ्चालन गर्दै आएका कट्टेलले ६ महिना यता १२–१३ जनालाई काम मिलाइदिइसकेका छन् । टेक्सससँग सिमाना जोडिएको ओक्लोहामा राज्यका तीन वटा युनिभर्सिटीमा सयौं नेपाली विद्यार्थीहरु अध्ययनरत छन् ।

कतिपय विद्यार्थीहरु भने साताका पाँच दिन युनिभर्सिटीमा अध्ययन गर्ने र बाँकी दुईदिन टेक्ससका उत्तरी भागमा रहेका ड्यालस, फोर्टवर्थ, डेन्टन, शरमन, विचिटाफल्सलगायत ठाउँमा रहेका स्टोर, ग्याँस स्टेशन, रेष्टुराँहरुमा काम गर्न आइपुग्छन् । एक वर्षयता ग्यास स्टेशन, रेष्टुराँ, स्टोरहरुमा रोजगारीको अवसरमा संकुचन आएको छ ।

पुराना विद्यार्थीहरुका अनुसार ५–६ वर्ष अघिसम्म विद्यार्थीहरुले शपिङ्ग मलभित्र रहने साना गाडामा रहेका पसलहरु, मोबाइलका एसेसरिज (कभर, चार्जर, डाटा केबल) बेच्ने पसलहरुमा ठूलो मात्रामा कामको अवसर पाउँथे ।

गिफ्टशपहरुमा समेत कामको अवसर हुन्थ्यो । अहिले अनलाइन व्यापारले गर्दा ती व्यवसायहरु सुकेका छन् ।

शपिङ् मलहरु सप्ताहन्तमासमेत सुनसान छन् । जसले गर्दा विद्यार्थीहरुले पाउने रोजगारीमा ठूलो असर परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुले वैधानिक रुपमा गर्न पाउने काम कलेज, युनिभर्सिटीभित्र साताको २० घण्टामात्र हो ।

तर त्यो पाउन पनि असाध्यै सास्तीपूर्ण छ । थोरै सिट, तर आकांक्षी धेरै हुँदा पहिलेनै आवेदन दिनेले मात्र अवसर पाउँछन् ।

“दिनमा ५–६ वटा कल त विद्यार्थीहरुलाई काम मिलाउने, कसैलाई अपार्टमेन्ट खोजेर राखिदिने विषयमै हुन थालेको छ । यसपालि जस्तो काम पाउन कठिन कहिल्यै महसुस भएन,” नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले भने ।

उनका अनुसार काम पाउने ठाउँसम्म पुग्न नयाँ विद्यार्थीसँग गाडी हुँदैन, कलेज र बसाईको नजिक काम मिल्दैन । यसलाई समाधान गर्न निकै गाह्रो परिरहेको उनले बताए ।

२०८० साउनदेखि पुससम्म ६ महिनाको अवधिमा अमेरिकामा अध्ययन गर्न आउनका लागि ५ हजार तीनसय १४ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् । यी मध्य केहीले भिसा नपाए पनि धेरै जसो भने अमेरिका आइसकेका छन् । गत आर्थिक वर्ष २०७९–८० मा तीन हजार ९ सय ७० ले अमेरिका पढ्न आउन नो अब्जेक्सन लेटर लिएका थिए ।

सम्बन्धित खबर