२०८१ फागुन २२, बिहिवार , १०:०६:५८ बजे

Sajhamanch
'

कर्णाली साकोस २४औं वर्षमा प्रवेश, कर्मचारी र संस्थापक सम्मानित, निर्णय प्रमाणीकरण सभा सम्पन्न

बुधवार, पौष ४, २०८०

झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको प्रदेशकै अग्रणी सहकारी कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २३औं वार्षिक साधारणसभा एवम् २४औं वार्षिकोत्सव आज बुधबार सम्पन्न गरेको छ ।

सहकारी ऐनको प्रावधानलाई आत्मसात गर्दै संस्थाले मंसीर ५ गतेदेखि १२ गतेसम्म आफ्नो कार्यक्षेत्रका सात स्थानमा इकाईगत साधारण सभा सम्पन्न गरी आज निर्णय प्रमाणिकरण सभा गरेको हो ।

साकोसका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोडमा आयोजित निर्णय प्रमाणिकरण सभामा उनले सहकारी अभियानका समसायिक विषय एवम् संस्थाको नयाँ नेतृत्व चयन सम्बन्धी विषयमा प्रकाश पारेका थिए । ‘आकांक्षीहरु बीच सहमति गराउने अन्तिम प्रयास जारी छ भएन भने पुष १३ गते बिर्तामोडमा चुनाव गराइनेछ’ अध्यक्ष प्रधानले बताए ।

संस्थामा कार्यरत ४०० हाराहारी कर्मचारीहरुलाई कर्णालीबाटै आत्मनिर्भर हुनसक्ने गरी व्यवस्थापन गरिएको बताउँदै अध्यक्ष प्रधानले रोजगारीको लालशाले विदेशिनु पर्ने अवस्था आउन नदिने विश्वास दिलाए । यसैगरी संस्थाका सम्पूर्ण सदस्यहरुलाई कर्णाली साकोस नै तपाईंको वित्तीय सारथी रहेको भन्दै अध्यक्ष प्रधानले निरन्तर कारोबार गरी आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सुझाव दिए ।

निर्णय प्रमाणिकरण सभाका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवम् निवर्तमान मन्त्री एकराज कार्कीले सहकारीबाट लिएको कर्जा तिर्न पर्दैन भनी हुंकार गर्नु गलत भएको बताए । सहकारीले उत्पादनका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको औंल्याउँँदै उनले बैंकमा पैसा राख्ने र सहकारीबाट ऋण माग्ने कार्यले सहकारी उँभो नलाग्ने पनि प्रष्ट पारेका थिए ।

नेपालमा आर्थिक मन्दी हुनाको प्रमुख कारण विकास निर्माणका कार्यहरु हुन नसक्नु भएको औंल्याउँदै प्रदेशसभा सदस्य कार्कीले आर्थिक मन्दीले सबै क्षेत्रमा समस्या भइरहेको सुनाए ।

सो साधारणसभाका अर्का अतिथि वक्ता झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक समिति सदस्य केशव बस्नेतले हजारौंको संख्यामा रहेका प्रारम्भिक सहकारी संस्थाको नियमनका लागि डिभिजन सहकारी कार्यालयहरु पुनः बिउँताउनुपर्ने सुझाव दिए ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो निर्णय प्रमाणिकरण सभामा कर्णाली साकोसका संस्थापक सेयर सदस्यहरु भुपेन्द्रप्रसाद भट्टराई र जयबहादुर गौतमलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रमममा आमन्त्रित अतिथिहरु एवम् सहभागीहरुलाई संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गर्दै कर्णाली साकोसको गत आर्थिक वर्षको वित्तीय विवरण पनि प्रस्तुत गरेका थिए ।

संस्था स्थापनाको २४औं वर्ष प्रवेश गरेको सुखद दिनको अवसरमा आयोजित निर्णय प्रमाणिकरण सभामा कर्णाली साकोसका विभिन्न विधाका ११ जना कर्मचारीहरुलाई नगदसहित प्रशंसापत्र प्रदान गरी पुरस्कृत गरिएको थियो ।

संस्थाबाट सम्मानित र पुरस्कृत हुने कर्मचारीहरुमा २० वर्षदेखि कार्यालय सहयोगी भई कार्यरत नन्ददेवी बस्नेत, अनिवार्य अवकासप्राप्त कर्मचारी हरिप्रसाद ढकाल र उद्धब कार्की रहेका छन् ।

यस्तै उत्कृष्ट मूल्याङ्कन तर्फ ताराबहादुर राई, उत्कृष्ट सेवा केन्द्रतर्फ पुष्पलता ढुंगाना, ऋण शाखाका कर्मचारीहरु ईन्दिरा ढुंगाना र उमेश गणेश पुरस्कृत भए । यस्तै लघुवित्ततर्फका गीता निरौलासहित चैतन्य अधिकारी, मन्जु खत्री र हरिमाया दाहाल नगदसहित पुरस्कृत भए ।

यसैबीच कर्णाली साकोसको आगमी चार वर्षे कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन प्रक्रिया जारी रहेको छ । निर्णय प्रमाणिकरण सभा तथा २४औं वार्षिकोत्सवको दिन अघि नै सर्वसम्मत नेतृत्व चयन गर्ने गरी निर्वाचन कार्यक्रम बनाइए पनि आकांक्षीहरु बीच सहमति नहुँदा सिङ्गै नेतृत्व चयन हुन नसकेको निर्वाचन अधिकृत, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले बताएका छन् ।

आज साधारणसभाको निर्णय प्रमाणिकरण सभाको अन्तिम समयसम्म पनि उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत नेतृत्व चयन गरेर कर्णालीको साखलाई उँचो बनाउन निर्वाचन अधिकृत दाहालको आग्रह थियो ।

निर्वाचन समितिले प्रकाशन गरेको सूचना अनुसार सञ्चालक समितिको अध्यक्षमा टसबहादुर प्रधान, सचिवमा भुपाल बस्नेत र कोषाध्यक्षमा एकराज विष्ट सर्वसम्मत चयन भइसकेका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समितिका संयोजक मनकुमार बेघा र महिला सदस्य निलम प्रधान निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

संस्थाको उपाध्यक्षमा गुञ्जन थापा, गणेश पराजुली र रामकुमार गौतमले मनोनयन दर्ता गरेका छन् भने केही सञ्चालक समितिका सदस्यहरु पनि सर्वसम्मत र केहीमा छलफल जारी रहेको जनाइएको छ ।

बाँकी पदाधिकारी र सदस्यहरु सर्वसम्मत हुन नसके आगामी पुष १३ गते मतदानमार्फत चयन गरिने निर्वाचन अधिकृत दाहालको भनाई छ ।

सम्बन्धित खबर