२०८१ मंसिर १५, शनिवार , ११:५४:४४ बजे

Sajhamanch
'

मेचीनगरमा मानव–हात्ती द्वन्द न्यूनीकरण सम्बन्धी विज्ञसंग छलफल

बुधवार, कार्तिक २२, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले मानव–हात्ती द्वन्द न्यूनीकरण सम्बन्धी विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको टोलीसँग छलफल गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नै कार्यकक्षमा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख र वन्यजन्तु सम्बन्धी विज्ञ र डब्लुडब्लुएफ नेपालका टिमसँग छलफल गरेका हुन्।

मेचीनगर क्षेत्रमा मानव–हात्ती द्वन्द न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने छलफलमा नगरप्रमुख बुढाथोकीसँगै प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, डब्लुडब्लुएफ नेपालका अध्यक्ष डा. घनश्याम गुरूङ, डा. शान्तराज ज्ञवाली, पर्यटन अभियन्ता डा. आलोक प्रसाईंलगायतले आफ्नो धारणा राखेका थिए ।

सो छलफलमा मेचीनगर १ का वडाध्यक्ष राजेन्द्रकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ९ का वडाध्यक्ष कञ्चन तामाङ, १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, आरआरटी नेपालका अध्यक्ष न्युटन्स कार्की, वन्यजन्तु अनुशन्धानकर्ता सन्दिप लुइँटेल लगायतले मानव–हात्ती द्वन्दको कारण र न्यूनीकरणको उपायहरुबारे आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

छलफलमा सहभागीहरुले आफ्नो अस्तित्व जोगाउन अर्कालाई असर पुर्याउने क्रियाकलाप गर्न नहुने बताए । जंगली हात्तीको समस्या समाधान गर्न नयाँ प्रविधि अपनाउन सरोकारवाला निकायलाई आग्रह गर्नुपर्ने पनि उनीहरुको भनाई थियो ।

मेचीनगर नगरपालिकाले पछिल्लो समय हात्ती पिडितलाई तत्कालै राहत स्वरूप प्रदान गर्ने रकम उपलब्ध गराउने व्यवस्था मिलाएको पनि सरोकारवालाहरुलाई सुनाएको छ ।

छलफलमा मेचीनगरका अन्य वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्की, खाद्य विश्लेसक दिपेन्द्र कार्कीलगायतको सहभागिता थियो ।

सम्बन्धित खबर