२०८१ असोज ४, शुक्रवार , १२:१०:३० बजे

Sajhamanch
'

मंगलबार राष्ट्रिय शोक : सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय

सोमवार, असोज २२, २०८०

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको बैठक पछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भनिन्, ‘दिवंगत हुनु भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।’

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी पनि गरेको छ ।

मृतकको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । उक्त रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउनेछ ।

इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइन माध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर