२०८१ पौष १२, शुक्रवार , ०७:२४:५० बजे

Sajhamanch
'

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ, केही नेपालीहरु पनि घाइते

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको थियो।

हालसम्म ७० जना इजरायली र १९८ जना प्यालेस्टिनीहरू मारिएको उल्लेख छ। त्यस्तै ७०० भन्दा बढी इजरायलीहरू घाइते भएको बीबीसीले जनाएको छ।

उक्त आक्रमणमा नेपाली पनि परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार ९ नेपाली घाइते भएका छन्, २ को अवस्था गम्भीर छ। १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा पनि आक्रमण हुँदा सो घटना भएको मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एक नेपाली महिलाले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्– ‘नेपालबाट करिब १ महिना पहिला ५० जना विद्यार्थी भाइबहिनी गाजा क्षेत्रमा आएका रहेछन्। कलेज पनि त्यतै र कृषि फारम पनि नजिकै भएकाले गाजाको नजिक बसेका रहेछन्। उनीहरू ३ वटा कलेजमा बस्दा रहेछन्। एउटा कलेजका भाइ–बहिनीले बंकरमा बसेको र सुरक्षित रहेको जानकारी गराएका छन्। कुरा गर्दा चित्कार सुनिन्छ। भाइ–बहिनी आत्तिएको अवस्थामा रहेको प्रस्टै थाहा हुन्छ। अवस्था आत्तिने मात्र होइन, साह्रै असह्य छ। फोन सम्पर्कमा बचाइदिनुहोस् भन्ने चित्कार थियो।’

यसअघि कतिपय सञ्चार माध्यमहरूले ९ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए। यद्यपि जेरुसेलममा रहेका गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले १७ जना नेपाली कार्यरत रहेको कृषि फर्ममा आक्रमण भएको र ९ जना घाइते भए पनि बन्धक भने कोही पनि नभएको बुझिएको बीबीसीसँगको कुराकानीमा बताएका थिए।

उनले भने, ‘त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरायली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर, धेरै साथीहरू बंकरमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।’

उनले हालै इजरायल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए।

त्यसबारे बुझ्दा नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले त्यस्तै खबर आएको तर स्रोतहरू सीमित भएकाले पुष्टि गर्न नसकेको जानकारी दिएको छ। इजरायलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयका उच्च अधिकारीसँग साँझ नै छलफल गरेका थिए।

विभिन्न विवरणमा जनाइएअनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरायलबीच भएको सरकार–सरकारबीच जीटुजी सम्झौताअनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन्। भण्डारीका अनुसार अहिले त्यहाँ करिब ८०० जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ।

बीबीसीका अनुसार नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन्। इजरायलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेषखाले अपिल जारी गरेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न भनेको थियो।

उक्त अपिलमा भनिएको छ, ‘इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरंशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ। साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।’

सम्बन्धित खबर