२०८१ मंसिर १५, शनिवार , ०५:०२:४९ बजे

Sajhamanch
'

संजिवनी साकोसको साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबारीहरु सम्मानित

शनिवार, असोज ६, २०८०

झापा । बिर्तामोडस्थित सञ्जिवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज शनिबार आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सयौं सहकारी संस्थाहरु सञ्चालनमा रहेको झापाली भूमिमा सदस्य सेवाको माध्यमबाट आफ्नो फरक पहिचान स्थापित गर्न प्रयासरत संञ्जिवनी साकोसले सदस्यहरुकै माझबाट साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाभन्दा बाहिरबाट अतिथिहरु आमन्त्रण गरेर मन्तब्य राख्ने समय छुट्याउँदा सदस्यहरुलाई संस्था सम्बन्धी विषयहरु छलफल गर्न समय नपुग्ने भएकाले संञ्जिवनी साकोसले सदस्यमैत्री साधारणसभा बनाएको जनाइएको छ ।

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उपस्थित ज्येष्ठ सदस्य ७९ वर्षीया तुलसादेवी खरेलबाट दिप प्रज्वलन गरी गरिएको थियो ।

साधारणसभामा अध्यक्ष चुडालले संस्था सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षको आर्थिक मन्दी र तरलता संकटका बीचबाट पनि संस्था सरल रेखामा चलाउन सफल रहेको प्रष्ट्याए ।

समीक्षा वर्षमा शेयर पुँजी ५ दशमलव ४३ प्रतिशत, निक्षेप वृद्धि ५ दशमलव १२ प्रतिशत, लगानीमा रहिरहेको कर्जा २ दशमलव ४४ प्रतिशत र कोषमा २८ दशमलव ४६ प्रतिशतले प्रगति भएको अध्यक्ष चुडालले जनाए ।

साधारणसभाको अवसरमा असल बचतकर्ता सदस्यहरु, असल ऋणि र उत्कृष्ट विद्यार्थीहरु जनही नगद २ हजार रुपैयाँसहित पुरस्कृत भए ।

साधारणसभामा विशेष अतिथिका रुपमा सहभागी संस्थाका शेयर सदस्य नं. १ रहेका पत्रकार गणेशमान मुखिया र प्रमुख अतिथि ज्येष्ठ सदस्य तुलसादेवी खरेलको हातबाट पुरस्कार तथा सम्मानहरु हस्तान्तरण गरिएको थियो ।

संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित सहभागीहरुलाई उपाध्यक्ष दिनेशकुमार सुवेदीले शाब्दिक स्वागत गरेका थिए ।

समारोहमा संस्थाले सञ्चालन गरेको अकार्षक बचत योजना पेन्सन बचत कार्यक्रमसहित संस्थाको समग्र वस्तुस्थिति झल्कने साझामञ्चले उत्पादन गरेको २० मिनेटको श्रब्यदृश्य सामग्री प्रसारण गरिएको थियो ।