२०८१ मंसिर १८, मङ्गलवार , ०१:२१:३७ बजे

Sajhamanch
'

रक्षामन्त्री गायब प्रकरणले चीनमा राजनीतिक तरंग

बुधवार, असोज ३, २०८०

काठमाडौं । शासनको तेस्रो कार्यकालमा आफ्नो भव्य दृष्टिकोण सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिन फिङले वफादारहरूलाई शीर्ष स्थानमा राखेका थिए ।

सीको अपेक्षा थियो, ‘वफादारहरूले आफ्नो दृष्टीकोण सहजताका साथ कार्यान्वयन गर्नेछन् ।’

तर एक वर्षको अवधिमै सीको यो अपेक्षामा कठिनाइ देखापरेको छ । आफ्ना विश्वापात्रलेनै प्रश्न उठाउन थालेपछि सीले राजनीतिक तरंगको सामाना गर्नुपरेको छ ।

दुई महिनाको अवधिमा चीनका दुई उच्चपदस्थ मन्त्री र चीनका लागि अन्तर्राष्ट्रिय मध्यस्थकर्ता गायब छन् । पूर्व परराष्ट्रमन्त्री क्वीन गाङ नाटकीय रुपमा गायब भएको घटनापछि हाल रक्षा मन्त्री ली साङफू गायब छन् । विगत तीन सातादेखि उनी सार्वजनिक वृत्तमा देखा परेका छैनन् ।

पश्चिमासँगको बढ्दो तनावको समयमा सीले आन्तरिक कमजोरी वा खतरालाई हटाउन खोजेको अवस्थामा उनीहरू गायब भएका हुन् । ली र क्वीन दुबै राज्य परिषद्का पाँच सदस्य मध्येमा थिए । दुबैजना मन्त्रिपरिषद्का प्रभावशाली मन्त्री थिए । ली केन्द्रीय सैन्य आयोगमा समेत थिए । सी नेतृत्वको यस शक्तिशाली आयोगले चीनको सम्पूर्ण सशस्त्र बललाई परिचालन गर्छ ।

एक महिनाअघि आकस्मिक रुपमा सीले सेनाका दुई उच्च कमाण्डरलाई बर्खास्त गरेका थिए ।

पूर्व परराष्ट्रमन्त्री क्वीन गायबको घटनामा पनि सरकार मौन थियो । रक्षामन्त्रीको प्रकरणमा पनि सरकारले केही बोलेको छैन । सीको अपारदर्शी कार्यकालमा यस्ता घटना सामान्य छन् ।

सरकार केही नबोलेपनि उच्च श्रोतको हवला दिँदै गत मंगलबार वाल स्ट्रीट जर्नलले एक समाचार प्रकाशित गरेको छ । क्वीनमाथि विवाहेत्तर सम्बन्धमा सरकारी अनुसन्धान भइरहेको त्यसमा जिकिर छ । अमेरिकामा राजदूत हुँदा उनी विवाहेत्तर सम्बन्धमा रहेकाले अनुसन्धान गरिएको सार समाचारमा छ । चीनको विदेशमन्त्रालयले यस मामिलामा कुनै प्रतिक्रिया जनाएको छैन ।

उच्चपदस्थ नेतानै गायब हुँदा कायम भइरहेको बेइजिङको मौनतालाई विश्वलेनै आश्चर्यका रुपमा हेरेको छ । विज्ञहरू भन्छन्, ‘चीनको सत्तारुढ अभिजान वर्गमा देखिएको अनिश्चितताले बेइजिङको राजनीतिक प्रणालीको कमजोरी उजागर गरेको छ ।’

उनीहरू अघि भन्छन्-‘सीको तेस्रो कार्यकाल उनको व्यक्तिगत शक्तिको एकाग्रतामा केन्द्रित छ । ‘

सिंगापुरको नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ता ड्रु थोम्पसनका अनुसार जारी राजनीतिक घटनाक्रमले बेइजिङको राजनीतिक संकटलाई चित्रण गर्छ । ‘विश्वासपात्रसँग सीको बढ्दो तिक्तता र शासकीय स्वभाव नियन्त्रणका मापदण्डको अभावका कारण चीन राजनीतिक जोखिमतर्फ अग्रसर छ,’ उनले भने ।

चीनमा रक्षामन्त्री कार्यकारी भूमिकामा हुँदैन । लीले सैन्य संयन्त्रलाई परिचालनको हैसियत नराखे पनि विश्वका लागि आवश्यक सैन्य कुटनीतिका लागि उनी चीनको महत्वपूर्ण अनुहार थिए । गत मार्चमा रक्षा मन्त्री भएसँगै उनले दुईपटक मस्को भ्रमण गरेका थिए । बेलारुस पुगेर त्यहाँ राष्ट्रपतिसँग भेट गरेका थिए भने अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनसँग पनि उनको भेट भएको थियो । तर हालसालको कुरा गर्दा उनी कुटनीतिक गतिविधिबाट अलग छन् । भियतनाम र सिंगापुरका सैन्य अधिकारीहरूसँऊको छलफलमा उनी देखा परेनन् ।

विज्ञहरूको अनुमान के छ भने अमेरिकासँगको सम्बन्धलाई स्थिर बनाउने प्रयत्न भइरहेको समयमा उनलाई छायाँमा राखिएको हुनसक्छ । सन् २०१८ मा चीनले रुसबाट हतियार खरिद गरेपछि अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो । त्यस प्रतिबन्ध फुकुवा नगरेसम्म ली अमेरिकासँगको कुनै पनि वार्तामा सहभागिता नजाउने अडान बेइजिङले लिँदै आएको थियो । लीलाई जिम्मेवारीबाट हटाइएको थियो भने दुई शक्तिराष्ट्रबीचको सैन्य वार्ताका लागि चालिएको कदमका रुपमा लिनसकिन्थ्यो ।

दोषबाट उम्किन नसकेका सी

सीका आफ्नै विश्वासपात्र लगातार गायब र पतन प्रकरणलाई उच्च नेतृत्वमा रहेका अन्यले निकै संशय र त्रासको दृष्टीकोणबाट हेरिरहेको विज्ञहरू बताउँछन् । ‘राज्य परिषद्का दुई सदस्यनै सार्वजिक वृत्तबाट गायब भएको प्रकरणले सीको राजनीतिक संकटलाई प्रतिविम्वित गर्छ । संकटलाई लुकाउने जतिसुकै प्रयत्न भए पनि विस्तारै त्यसको प्रस्फुटन भइरहेको छ,’ चिनिँया कम्युनिस्ट पार्टीको अखबारका पूर्व सम्पादक देङ युवेन भन्छन् ।

सीको तेस्रो कार्यकालमा चीन आर्थिक संकट उन्मुख छ । युवा बेरोजगारको संख्या बढिरहेको छ भने स्थानीय सरकार ऋणको चपेटामा छन् । सीको तेस्रो कार्यकालमा विश्वकै दोस्रो ठूलो अर्थतन्त्र जोखिमतर्फ अघि बढिरहेको विज्ञहरू बताउँछन् । ‘आर्थिक, सैन्य शक्तिको महत्वपूर्ण आधारशिलालाई थाँची राख्दै सी अहिले वैचारिक एकताको पक्षमा अघि बढिरहेका छन्,’ क्रेग सिग्लेटन भन्छन् ।

सीले सबै शक्ति आफ्नो हातमा लिइसकेका छन् । यद्यपि सैन्य क्षेत्रमा आफ्नो शक्ति विस्तार दुई गुणाले बढाइरहेका छन् । ली गायब भएकोबारे चासो बढ्दै गएपछि सीले भनेका थिए, ‘सेनाभित्र एकता र स्थिरता कायम राख्न आवश्यक छ ।’

शक्तिमा पुगेपछि आफ्ना विश्वासपात्रमाथि कदम चाल्ने नेतामा सी मात्रै होइनन् । चिनिँया कम्युनिस्ट पार्टीका पूर्व अध्यक्ष माओत्सतुङले पनि यस्तै गरेका थिए । सम्पूर्ण शक्ति आफैँमा केन्द्रित गरेका सीले यस्ता कदम जारीनै राख्नै विज्ञहरूको मत छ । राजनीतिक प्रणाली नसुध्रिएसम्म यस्ता घटना जारी रहने उनीहरूको मत छ ।

सम्बन्धित खबर