काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ब्रेक सुलगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको छ ।
सीआईबीले पत्रकार सम्मेलनपछि आज बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दैछ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।
उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।
यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् । सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।
हालसम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका छन् । रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६० दशमलव ७१६ किलो पक्राउ परेको छ ।
सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२ दशमलव ०६२ किलो गरी जम्मा ३६२ दशमलव ७७८ किलोग्राम सुनको तस्करी भएको प्रहरीको दावी छ । सो वापत हुन आउने मुल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँचवटा कम्पनीहरू मार्फत ल्याएएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । ‘यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानीसमेत लिएको पुष्टि हुन आएको हुदाँ सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
गत असार २ मा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलस्थित त्रिवि भन्सार कार्यालय परिसर बाहिर बा २ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेक प्याड १६० सेटसहित ८ कार्टुन बरामद गरेको थियो । बरामद भएको उक्त ब्रेक प्याडमा अवैध सुन भएको पुष्टि भएको थियो ।
ब्रेक प्याड, सेभर, स्मार्ट वाच लगायतका उपकरण प्रयोग गरेर सुन तस्करी हुने गरेको पनि अनुसन्धानमा देखिएको छ । ६० दशमलव ७१६ केजी सुन, ११८० सेट ब्रेक प्याड, सुन गाल्ने मेसिन १० वटा बरामद भएको थियो ।