काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गर्ने तयारी गरेको छ ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको गए राति निधन भए र उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।
अन्तिम सम्मान सम्बन्धी कार्यविधिमा तोकिएका बाहेक अरुको हकमा राष्ट्रिय सम्मानबारे मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ ।
नेकपा एमालेले नेम्वाङको पार्थिव शरीरलाई बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा लैजाने तयारी गरेको थियो । तर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय पर्खिन आग्रह गरेपछि शब शिक्षण अस्पतालमा नै राखिएको स्रोतले बताएको छ ।
सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् ।
‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो’ आलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !’।
राजनीतिक वृत्त स्तब्ध
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको पाइएको छ । संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा अकस्मात निधन भएको हो ।
नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् भने महेश बर्तौलाले मियो गुमाएको बताएका छन् ।
दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिने शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमै पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा पुगेका हुन् ।