२०८१ मंसिर १०, सोमवार , ०२:३२:५५ बजे

Sajhamanch
'

संजिवनी साकोसः पेन्सन बचतमा सदस्यहरुको आकर्षण, बाह्य कर्जा शून्य बनाउने रणनीतिमा

मङ्गलवार, भदौ १२, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ ।

कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना गरी सञ्चालित सहकारी शिक्षा तालिममा संस्थाको वित्तीय अवस्थासहित पेन्सन बचत कार्यक्रमको विषयमा प्रकाश पारिएको थियो । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा सञ्चालित सदस्य शिक्षा तालिम कार्यक्रममा उनले जुनसुकै वित्तीय संस्थाका प्रमुख अधिकारप्राप्त मानिसहरु जिम्मेवार भए भने सिंगो संस्था र कर्मचारीहरु सही मार्गमा हिंड्ने धारणा राखेका थिए ।

संस्था १६औं वर्षमा प्रवेशको चरणमा रहेको अवगत गराउँदै अध्यक्ष चुडालले चालू वर्षबाट संस्थाले बाह्यकर्जा थप नगर्ने र आगामी आर्थिक वर्षमा शून्य पार्ने नीति लिएको सदस्यहरुमाझ जानकारी गराए । यसका लागि संस्थाको आकर्षक योजना पेन्सन बचत कार्यक्रममा सदस्य विस्तार गर्ने एवम् सुविधाहरु माथि छलफल गरेर सदस्यहरुलाई आकर्षण गर्ने योजना बनाइएको उनको भनाई छ ।

सानो बचत तर दीर्घकालसम्म गर्न सकियो भने बचतकर्ता पनि लाभान्वित हुने र सहकारी संस्था पनि टिक्ने भएकाले सम्पूर्ण सदस्यहरुलाई यसतर्फ सचेत हुन अध्यक्ष चुडालको आग्रह थियो । गत असार मसान्तको वित्तीय तथ्याङ्क प्रस्तुत गर्दै अध्यक्ष चुडालले शेयर पुँजी ३ करोड १० लाख १८ हजार ८०० रुपैयाँ, कोष हिसाब ३ करोड ३१ लाख ९१ हजार २०९ रुपैयाँ, बचत हिसाब २४ करोड ३४ लाख ८९ हजार ९५६ रुपैयाँ र बाह्य ऋण ४ करोड ३४ लाख ३२ हजार ८४६ रुपैयाँ रहेको सुनाए ।

संस्थाको वासलात अंक ३६ करोड १९ लाख २५ हजार ७७१ रुपैयाँ रहेको बताउँदै अध्यक्ष चुडालले थपे, नगद तथा बैंक मौज्दात ३ करोड १८ लाख २२ हजार ५९५ रुपैयाँ, कर्जा लगानीमा रहेको ३० करोड २८ लाख ५४ हजार १५७ रुपैयाँ, बैंक तथा संघहरुमा सेयर लगानी १ करोड १३ लाख ५० हजार र स्थिर सम्पत्तीमा १ करोड ५० लाख ५६ हजार ३९५ रुपैयाँ रहेको जनाए । संस्थाले गत आर्थिक वर्षमा ३० लाख ३८ हजार खुद नाफा गरेको जनाइएको छ ।

संजिवनी साकोसका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित सदस्यहरुलाई शाब्दिक स्वागत गर्दै उपाध्यक्ष दिनेशकुमार सुवेदीले सदस्य शिक्षा तालिम तथा अवलोकन भ्रमणको औचित्य प्रकाश पारेका थिए । सेयर सदस्यहरुलाई संस्थाको समग्र अवस्थितिबारे जानकारी गराएर अपनत्व सिर्जना गर्नु र सहकारीका मूल मर्महरुबारे प्रष्ट पार्नु सदस्य शिक्षा कार्यक्रमको उद्देश्य हुने सुवेदीको भनाई थियो ।

सो कार्यक्रममा संस्थाको आकर्षक योजना पेन्सन बचत कार्यक्रममा सहभागी सदस्यहरुलाई सुविधाका विषयमा थप अवगत गराउँदै संस्थाका अरु सदस्यहरुलाई पनि समेट्न आग्रह गरिएको थियो । २०७५ कात्तिक २७ गतेदेखि सुरु गरिएको पेन्सन बचत योजनामा हाल ३५० जना सदस्य रहेका छन् ।

यसप्रकारको बचत योजनामा समावेश भएका सदस्यहरुको दुर्घटना बीमा हुने, उपचार सुविधा पाइने, सदस्यको बुवाआमाको देहावसानमा २५ हजार रुपैयाँ सुद्धयाइँ खर्च प्रदान गरिने, सदस्य स्वयम्को निधनमा ५० हजार रुपैयाँ परिवारलाई प्रदान गरिने र ऋणि सदस्यको हकमा दुई लाख रुपैयाँ कर्जा मिनाहा गरिने ब्यवस्था रहेको प्रष्ट पारियो ।

सो सदस्य शिक्षा कार्यक्रममा संस्थाको समग्र विषयवस्तु र पेन्सन बचत योजना सम्बन्धी प्रष्ट नभएका कुराहरु बारे चक्रप्रसाद खरेल, गंगाप्रसाद प्रसाईं, कृष्णप्रसाद उप्रेती र गिरीराज उप्रेतीले जिज्ञासा र केही सुझावहरु राखेका थिए । ती प्रश्नहरु माथि अध्यक्ष चुडाल, उपाध्यक्ष सुवेदी र ब्यवस्थापक कृष्णप्रसाद खरेलले प्रष्ट्याएका थिए ।

सोही अवसरमा संस्थाको १६औं वार्षिक साधारणसभा आगामी असोज ६ गते बिर्तामोडमा सम्पन्न गर्ने कार्यतालिका बनाइएको जानकारी गराइएको छ ।

सम्बन्धित खबर