२०८१ मंसिर १०, सोमवार , ०२:३२:५० बजे

Sajhamanch
'

पूर्वार्ध कृषि सहकारी संस्थामा नयाँ नेतृत्व चयन, पुनःजीवन पाउने अपेक्षा

बिहिवार, साउन ३२, २०८०

झापा । कोरोना महामारीसँगै दुग्ध ब्यवसाय धरासायी भएपछि कारोबार नै स्थगित रहेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनःजीवन पाउने भएको छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको परिपत्र अनुसार झापा जिल्ला सहकारी संघको संयोजनमा बुधबार सम्पन्न निर्वाचन कार्यक्रमबाट सो संस्थाले सर्वसम्मत नयाँ नेतृत्व पाएसँगै पुनःजीवनको आशा जागेको हो ।

पूर्वार्ध डेरी उद्योग सञ्चालन गरी आफ्नो पहिचानलाई विस्तार गर्दै रहेको अवस्थामा बन्द भएको सो संस्था सञ्चालनका लागि ७ बिगाहा जमिन भाडामा लिइएको छ । उक्त जमिनको ठूलो हिस्सामा कागती खेती गरिँदै आएको छ र उत्पादन दिने चरणमा रहेको बताइन्छ ।

डेरी उद्योग चलाएर सो संस्थाले पञ्चामृत र एनएमसी डेरीसँग प्रतिष्पर्धात्मक व्यवसाय गर्दै स्थानीय उपभोक्तालाई फरक स्वाद पस्किरहेको थियो । उक्त उद्योगका मेशिन औजारहरु अहिले पनि संस्थासँगै रहेका छन् । तिनको मर्मत गरी उद्योग नै सञ्चालन गर्न पनि सक्ने बताइन्छ ।

अत्यन्त सम्भावनायुक्त भएर पनि विविध कारणले बन्द रहेको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडमा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्वाचित भए पछि अब कारोबार सुरु हुनेमा आफूहरु विश्वस्त रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई बताउँछन् ।

झापा जिल्ला सहकारी संघले माद्यमिक तहका शिक्षक गुणराज लुइँटेलको संयोजकत्वमा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्र र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सो संस्थामा २१ दिनभित्र नयाँ नेतृत्व चयन गरेर पठाउन जिल्ला संघलाई परिपत्र गरेपछि समयावधि भित्रै आफूहरुले काम सम्पादन गरेको भट्टराईको भनाई छ ।

निर्वाचन कार्यक्रमबाट पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा बुद्धशान्ति ३ का सागरबाबु उप्रेती र उपाध्यक्षमा अर्जुनधारा १ का उमा कटवाल भण्डारी सर्वसम्मत चयन भएका छन् ।

११ सदस्यीय सञ्चालक समितिका सदस्यहरुमा सुदर्शन खतिवडा बुद्धशान्ति ५, सरोज कार्की बिर्तामोड २, टिकाप्रसाद सिवाकोटी अर्जुनधारा ४ र हिमाल बजगाई बुद्धशान्ति २ रहेका छन् ।

यस्तै, अर्जुनधारा १ का डम्बरबहादुर प्याकुरेल, अर्जुनधारा ८ का सुनिल थापा, अर्जुनधारा १ का भुवनसिंह कटवाल, अर्जुनधारा ८ का मेघनाथ भण्डारी र अर्जुनधारा १ का लक्ष्मी गजुरेल नेपाल संस्थाको सञ्चालक समिति सदस्य पदमा सर्वसम्मत चुनिएका छन् ।

झापा जिल्ला सहकारी संघ बिर्तामोड कार्यालयका सहप्रबन्धक सञ्जय ढकालका अनुसार पूर्वाद्र्धको लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत चयन गरिएको छ । बिर्तामोड ५ का तारानाथ उप्रेती लेखा सुपरीवेक्षण समितिको संयोजक बनेका छन् भने सदस्यहरुमा बुद्धशान्ति २ का देवीभक्त भट्टराई र अर्जुनधारा १ का तेजकुमार काफ्ले चयन भएका छन् ।

पूर्वार्धका नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका तर्फबाट बुधबार नै प्रमाणपत्र हस्तान्तरण पनि गरिएको जिल्ला संघका सहप्रबन्धक ढकालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर