२०८१ मंसिर १०, सोमवार , ०१:४०:३७ बजे

Sajhamanch
'

लम्की स्किन विरुद्ध बिर्तामोडमा खोप अभियान सुरु

आइतवार, साउन २१, २०८०

झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्की स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ ।

असार अन्तिम सातादेखि बिर्तामोडमा पनि लम्की स्किनले संक्रामक रुप लिएपछि रोग नलागेका स्वस्थ पशुहरुमा आजदेखि खोप लगाउन सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

उनका अनुसार वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट लम्की स्किन विरुद्वको खोप लगाउन सुरु गरिएको हो । सवै वडाका कृषकहरुको घर गोठमा पुगेर पशु प्राविधिकहरुले खोप लगाउने जनाइएको छ । से कार्यका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको शाखा प्रमुख दाहालले बताइन् ।

खोप लगाए वापत कृषकहरुले प्रति गाई १३० रुपैयाँ तिर्नु पर्नेछ । त्यसमा प्रयोग हुने सिरिञ्ज, निडिल, प्राविधिकहरुको चार्ज, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ । १५ हजार गाईमा यो खोप लगाउने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँभन्दा बढी खर्च हुने शाखा प्रमुख दाहालले प्रष्ट पारिन् ।

यो रोग विरुद्ध खोप सञ्चालनको उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडाअध्यक्ष दूर्योधन गुरुङ्गले ‘लम्की स्किन’ सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने जानकारी गराए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले सहयोग गर्ने प्रतिवद्वता पनि व्यक्त गरेका छन् । वडाअध्यक्ष गुरुङ्गले आफूले नै ५६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्स्नि लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको दावी गरेका छन् ।

बिर्तामोडमा मात्र लम्की स्किनबाट २ हजार ५०० भन्दा बढी पशु संक्रमित भएको तथ्याङ्क छ । हालसम्म ६ वटा पशु यसको संक्रमणबाट उपचार नपाई मरेका छन् । लम्की स्किन लागेमा गाईलाई ज्वरो आउने, शरीरमा फोका देखापर्ने, झोक्राउने, घाँस, खोले नखाने आदि लक्षण देखिन्छ । समयमा नै उपचार नपाएर पशु चौपायाहरु मर्ने गरेका हुन् ।

सम्बन्धित खबर