२०८१ मंसिर १३, बिहिवार , १२:३४:०१ बजे

Sajhamanch
'

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

शुक्रवार, जेठ १२, २०८०

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ ।

सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण संघ इलाम र सम्वृद्ध पहाड परियोजना इलामको सहयोगमा पशुपालन सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको पाइएको हो । व्यवसायिकरुपमा पशुपालन गरिरहेका ३० जना कृषकलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको हो । पशु स्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सो तालिमको सहजीकरण गरेका थिए ।

जिल्लामा सञ्चालित सहकारी संस्थाहरुसँग समन्वय गरी कृषकका लागि प्रकारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महिला जागरण संघ इलामले जनाएको छ । चुलाचुलीमा आएर पाथीभरा सहकारी संस्थासँग समन्वय गरी पशुपालन सम्बन्धी तालिम सञ्चालन गर्न पाउँदा आफू धेरै हर्षित भएको संघका अध्यक्ष अनुजा सिवाकोटीले बताइन् ।

तालिमको महत्व दर्शाउँदै चुलाचुली ४ का वडाध्यक्ष सागर जेवेगुले तालिम लिएर प्रमाणपत्र सिरानीमुनीमा राख्ने होइन, त्यसलाई व्यवहारमा लागू गर्नुपर्छ तबमात्र तालिम लिएको औचित्य हुन्छ भनी अथ्र्याएका थिए । ‘तालिम धेरै महत्वपूर्ण छ, यसले तपाइँहरुलाई जिविकोपार्जनका लागि ठूलो सहयोग पुग्नेछ’ जवेगुको भनाई थियो ।

आयोजक संस्था पाथीभरा साकोसका अध्यक्ष पदमकेशर लिम्बूले पशुपालन गर्दा आइपर्ने विभिन्न समस्याका साथै पशुमा लाग्ने विभिन्न रोगका बारेमा तालिमबाट जानकारी पाउने बताए । पशुपालन गर्दा आइपर्ने कतिपय समस्या किसान स्वयम्ले समाधान गर्न सक्षम हुनुपर्छ भन्ने उद्देश्यले यस्तो प्राविधिक तालिमको योजना बनाइएको सुनाए ।

वर्षौदेखि पशुपालन गर्दै आए पनि आफूहरुले धेरै कमजोरी गरेका रहेछौ, त्यो कुरा तालिमबाट सिक्ने अवसर प्राप्त भयो । आगामी दिनमा थप तालिम पाउनेमा हामी आशावादी छौ । यसतर्फ सहकारीले ध्यान दिनुपर्नेमा अर्का सहभागी नरमाया दंगालको माग थियो ।

तालिम प्रभावकारी भए पनि समय छोटो भएका कारण धेरै कुरा सिक्न सकिएन । तर जे जति सिक्यांै अत्यन्तै प्रभावकारी भयो । यसबाट पशुपालन गर्दा आईपर्ने विभिन्न समस्यालाई समाधान गरेर आफ्नो उत्पादन बढाउन सकिने रहेछ, अर्का सहभागी तुलाचन पौडेलको भनाई थियो ।

किसान उत्साहित छन् । स्थानीय तह र सरोकारवाला विभिन्न वित्तीय संस्थाले उत्पादनमा ध्यान दिए पनि बजारीकरणमा चासो नराख्दा कृषकले उत्पादन गरेको बस्तु खेर गइरहेको पाइन्छ । यसप्रति सरोकारवाला सबै पक्षले ध्यान दिनसके मात्र यस्ता तालिमको औचित्य हुने सहभागीहरुको भनाई छ । तालिममा खर्चेको लाखौं रुपैयाँ बालुवामा पानी हाले सरह हुने कृषि व्यवसायीहरु बताउँछन् ।

सम्बन्धित खबर