२०८१ मंसिर ३, सोमवार , ०५:३६:२७ बजे

Sajhamanch
'

आज गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउने पक्का

शनिवार, वैशाख ९, २०८०

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने भएका हुन्। त्यसको लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने सम्भावना भने छैन। माओवादीले विश्वासको मत फिर्ता लिइसकेकाले ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई एमालेका २२ र राप्रपाका २ सदस्यको मात्र विश्वासको मत दिने देखिएकाले उनले विश्वासको मत नपाउने निश्चितजस्तै देखिन्छ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी ०राप्रपा०को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमा पनि माओवादीले चैत १० गते समर्थन फिर्ता लिएको थियो। अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने भन्नेमा द्विविधामा थिए।

माओवादीको समर्थन बिना मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ। सोहि कारण मुख्यमन्त्री अधिकारी विश्वासको मत नलिने बिचारमा थिए। तर अन्य प्रदेशमा पनि संसदको सामना गर्दै विश्वासको मत लिने तयारी भएपछि गण्डकीमा पनि विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री अधिकारी निकट श्रोतले बताएको छ। त्यसबाहेक गण्डकीका एमाले सांसदले पनि संसदको सामना गर्न सुझाव दिएपछि उनी विश्वासको मत लिने निश्कर्षमा पुगेको श्रोत बताउँछ।

विश्वासको मत नपाउने देखेरै नेकपा एमालेले माओवादीलाई मुख्यमन्त्री लिन प्रस्ताव गरिसकेको छ। गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने देखेपछि एमालेले माओवादीका हरिबहादुर चुमानलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको हो। तर माओवादीले भने एमालेको प्रस्ताव अस्वीकार गरिसकेको छ। एमाले निकट श्रोत भन्छ, ‘हामीले अनौपचारिक रुपमा माओवादीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थियौं तर उसले केन्द्रको समीकरण भत्किने गरी मुख्यमन्त्री लिन सक्दैनौं भनेर प्रस्ताव अस्वीकार गरिसकेको छ।’

सम्बन्धित खबर