बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ ।
संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन भएको परीक्षामा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण भएका १५ जना कर्मचारीलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको हो ।
चैत २ देखि ४ गतेसम्म संस्थाको बिर्तामोड सेवा केन्द्रको सभाहलमा सम्पन्न तालिममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी, बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइराला, विभागीय प्रमुखहरु तेजकुमारी घिमिरे, जीवनमणि कटुवाल, सुबोध बुढाथोकी, हिरन कट्टेल, आविष्कार बस्नेत लगायतले सहजीकरण गरेका थिए ।
संस्थाले अंगिकार गरेको ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ मूल नाराको विषयमाथि संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पहिलो दिन सहजीकरण गर्दै एनएमसी अहिलेको उचाईमा पुग्नुमा संस्थाले लिएको असल संस्कारको महत्त्वबारे नवप्रवेशी कर्मचारीलाई बताएका थिए ।
संस्थाको पहिलो र मुख्य व्यवसायको रुपमा सञ्चालित बचत तथा ऋण व्यवसायमा कर्मचारीको भूमिका बारे सञ्चालक समिति सदस्य ठाकुरप्रसाद शिवाकोटीले सहजीकरण गरेका थिए ।
कर्मचारीको काम, कर्तव्य, अधिकार, स्वनियम, पुरस्कार तथा सम्मान, दण्ड सजाय, हाजिरी, पोशाक, सेवा सुबिधा, पदोन्नति प्रक्रिया, एचआर सफ्टवेयरको डेमोजस्ता विषयमा र सामाजिक सुरक्षा कोषबाट कर्मचारीले पाउने सेवा सुविधाका बारेमा कर्पोरेट मानव संशाधन प्रमुख जीवनमणि कटुवालले सहजीकरण गरेका थिए ।
संस्थाले सञ्चालन गरेका सामुदायिक गतिविधि साथै संस्थाको संक्षिप्त झलक सामुदायिक विभाग प्रमुख हिरन कट्टेलले र संस्थागत संरचना साथै सहकारी ऐन, कानुनको परिपालना सम्बन्धी विषयमा सहजीकरण संस्थाका कानुन तथा अनुपालन विभाग प्रमुख तेजकुमारी घिमिरेले गरेका थिए ।
संस्थाको कोर बैङ्किङ सफ्टवेयरको डेमो, रिसेप्सन, हेल्पडेक्स, टेलर सम्बन्धी कार्यहरु, सदस्यता कार्यविधि सम्बन्धमा कर्जा विभाग प्रमुख सुबोध बुढाथोकी र डिजिटल बैंकिङ सम्बन्धी विषयमा विभागीय प्रमुख आविष्कार बस्नेतले सहजीकरण गरेका थिए ।
तालिमको अन्तिम दिन शनिबार बचत तथा ऋण व्यवसायका प्रमुख मनिष कोइरालाले कर्मचारीले अपनाउनु पर्ने स्मार्ट वर्किङ स्टाइलबारे प्रकाश पारेका थिए ।
तालिमले संस्थामा प्रवेश गर्नासाथ कुशलतापूर्वक कार्यसम्पादन गर्न सहज हुने विश्वास बढेको सहभागिताहरुको प्रतिक्रिया दिएका छन् । संस्थाको व्यावसायिक विविधिकरण, सामुदायिक क्रियाकलाप साथै ऐन, नियमको पालना, सफ्टवेयरको डेमो सम्बन्धी ज्ञानले संस्थामा काम गर्न सजिलो हुने सहभागीले बताए ।
संस्थाको कर्पाेरेट मानव संसाधन विभागद्वारा आयोजित कार्यक्रमको सञ्चालन विभागीय प्रमुख जीवनमणि कटुवालले गरेका थिए ।
तालिम प्राप्त कर्मचारीहरुलाई संस्थाको स्वीकृत कार्यक्षेत्र झापा, इलाम र मोरङमा रहेका विभिन्न सेवा केन्द्रहरुमा आज चैत ५ गतेबाट पदस्थापन गरिएको मानव संसाधन विभाग प्रमुख कटुवालले जानकारी दिएका छन् ।