२०८१ मंसिर १५, शनिवार , ०२:०३:५० बजे

Sajhamanch
'

देव गुरुङले पृथ्वीलाई दिए बधाई, दुवै मिलेर वाम एकताको पहल गर्ने प्रस्ताव

शुक्रवार, मंसिर ९, २०७९

लमजुङ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता शक्तिले देशी विदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत पनि गरेका छन् ।

लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित एमाले उपमहाचिव गुरुङलाई प्रतिस्पर्धी माओवादी केन्द्रका गुरुङले बधाई दिँदै भने, ‘वाम एकताको पहल तपाईं र मबाटै गरौं ।’ बिहीबार बिहान पौने ४ बजेतिर अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङ पृथ्वीसुब्बा बसेको होटलमा नै बधाई दिन पुगेका थिए ।

एमालेसँगको तालमेलमा देवप्रसाद गुरुङ २०७४ को प्रतिनिधि तथा प्रदेशसभा चुनावमा विजयी भएका थिए । यसपटक कांग्रेससँगको गठबन्धनमा उनी पराजित भएका हुन् । ‘हिजो एमालेसँग गर्दा चुनाव जित्ने, आज कांग्रेससँग गर्दा हार्ने । त्यसैले उहाँको यस्तो अभिव्यक्ति आउन सक्छ’ पृथ्वी सुब्बा निकट एक नेताले भने ।

गत स्थानीय तह चुनाव अघि दुवैजना वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । पार्टी नेतृत्वले उनीहरुको प्रयासलाई सफल हुन दिएनन् । २०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस–माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’ को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्ने गरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।

२०७४ को चुनावमा एमालेसँगको तालमेलमा देवप्रसाद गुरुङ कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ८ हजार ४०१ मतले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनलाई लमजुङबाट चुनावमा लड्न जोडबल गरेका पृथ्वीसुब्बा गुरुङ प्रदेशमा चुनाव लडेर मुख्यमन्त्री भए । यसपटक कांग्रेससँगको गठबन्धनमा देवप्रसाद गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ३ हजार १८८ मतान्तरले पराजित भएका छन् । निर्वाचित गुरुङले ३४ हजार ९६९ मत पाएका छन् ।

एमाले उपमहासचिवसँग गुरुङसँगको प्रस्तावलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पत्नी एवं माओवादी केन्द्रका नेता यशोदा सुवेदी गुरुङले समर्थन जनाउँदै यसतर्फ अघि बढ्न दुवैलाई सुझाव दिएकी छन् । यसपटक स्थानीय चुनावअघि वाम शक्तिबीच गठबन्धन गर्नेबारे दुवै नेताबीच छलफल भएको थियो । ‘चुनावअघि गठबन्धनको विषयमा उहाँ र मेरो छलफल भएको हो । तर, सार्थकता पाएन’ एमाले उपमहासचिव गुरुङले भने ।

२०७४ मा देवप्रसाद गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै ५ वर्षका लागि संसदीय यात्रा तय गरेका छन् ।

बिहीबारको विजय र्‍यालीपछि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै मुलुक र देशको समृद्धि साथै लमजुङको विकासमा सधैं अघि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७८१ मत पाएका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार कूल १ लाख ३३ हजार ५५९ मतदाता रहेकोमा ८० हजार १९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधि सभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

सम्बन्धित खबर