२०८३ जेठ १४ बिहिवार , ०१:३५:४३ बजे

Sajhamanch
'

वराहक्षेत्रमा हात्तीको बच्चा मृत फेला

बिहिवार, जेठ १४, २०८३

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–२ स्थित बीस आरडी क्षेत्रमा पर्ने गहने खोलाको दहमा हात्तीको बच्चा मृत अवस्थामा फेला परेको छ ।

गहने खोलाको दहमा दलदलमा फसेर जङ्गली हात्तीको बच्चा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवश कुवँरले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदै गर्दा हात्तीको बच्चा दलदलमा फसेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बिहीबार बिहान हात्तीको बच्चाको शव दहमा टाउको भाग गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा प्रहरी र डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

पछिल्लो केही वर्षयता चारकोसे जङ्गल हुँदै जङ्गली हात्तीहरू वराहक्षेत्र नगरपालिका–१ र २ क्षेत्रमा बथानसहित नियमित रूपमा आउने गरेका छन् । पूर्वी नेपालबाट झापा हुँदै चतरा आसपासको जङ्गलसम्म आउने हात्तीहरू साँझपख आहारा खोज्दै गाउँ पस्ने र खेतबारीमा क्षति पुर्‍याउने गरेको स्थानीय लक्ष्मण कटुवालले बताउनुभयो ।

उहाँका अनुसार हात्तीहरूले मकै, धानलगायतका अन्नबाली नष्ट गर्ने गरेपछि स्थानीयवासी रातभर जाग्राम बसेर हात्ती धपाउन बाध्य छन् ।