
काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बुधबार बिहानसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात सेवा पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ।
कोशी प्रदेशमा पहिरो र बाढीका कारण सडक सञ्जालमा ठुलो क्षति पुगेको छ। पाँचथर जिल्लाको याङ्वारक गाउँपालिका वडा नम्बर ३ स्थित ओयाम बजार र रिजालभिरमा जेठ ८ गते गएको पहिरोका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरोध भएको छ।
सोही गाउँपालिकाको वडा नम्बर २ दोभानमा जेठ ८ गते नै आएको बाढीले गर्दा मध्यपहाडी लोकमार्गकै अर्को खण्ड पनि पूर्ण रूपमा ठप्प बनेको छ। यसै गरी सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा नम्बर ४ सिम्बुङमा जेठ ११ गते खसेको पहिरोले कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेको छ।
बागमती प्रदेशमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी मार्गमा चल्ने सम्पूर्ण सवारी साधनहरूलाई जेठ २२ गतेदेखि नै सम्भावित बाढीको खतराका कारण बीपी राजमार्ग सडक खण्डमा सञ्चालन गर्न रोक लगाइएको छ।
गण्डकी प्रदेशका केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ जलथलेमा जेठ १६ गते गएको पहिरो तथा रघुगंगा गाउँपालिका वडा नम्बर ३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी मात्र सुचारु छ।
सोही सडकखण्डको रघुगंगा गाउँपालिका वडा नम्बर १ उपल्लो बैसरीमा जेठ १३ गते बिहान खसेको नयाँ पहिरोले पनि सडकलाई एकतर्फी रूपमा मात्रै सञ्चालनमा राखेको छ।
कर्णाली प्रदेशको विकट हिमाली जिल्ला हुम्लामा पनि सडक अवरोध कायम छ। हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ मा जेठ २९ गतेको सम्भावित पहिरोको जोखिमका कारण हिल्सा सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै हुम्लाकै सर्केगाड गाउँपालिका वडा नम्बर १ खच्चा भन्ने स्थानमा जेठ १३ गते गएको पहिरोले कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध बनाएको छ। सडक विभाग र सुरक्षा निकायले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन्।



