२०८३ जेठ १३ बुधवार , ११:२१:४४ बजे

Sajhamanch
'

शुक्रबार धेरै ठाउँमा वर्षा हुने, पश्चिमेलीलाई मिल्नेछ गर्मीमा राहत

बुधवार, जेठ १३, २०८३

काठमाडौं । मौसमविदहरुले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । पानी पर्ने क्रम विहीबार बेलुकादेखि नै सुरु हुने र शुक्रबार राति तुलनात्मक रुपमा बढी हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढी पानी पर्ने सम्भावना छ ।

मौसमविद लामिछानेले भन्नुभयो, ‘शुक्रबार सातै प्रदेशमा पानी पर्ने सम्भावना छ । आजसम्मको अवस्था हेर्दा हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ ।’

अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने विश्वास छ ।

मौसमविद लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । सोही प्रभावले बादल बढ्ने र मेघगर्जन चट्याङसहित पानी पर्ने पूर्वानुमान गरिएको हो । त्यसैको प्रभावले आज र भोलि पनि केही जिल्लाहरुमा हावाहुरी चल्ने सम्भावना छ ।

भारी वर्षा’ पनि हुनसक्ने

केही मौसमविदहरुले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएका छन् ।

मौसमविद विनोद पोखरेलले पनि विहीबार बेलुकादेखि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा भारी वर्षा हुनसक्ने फेसबुकमा लेखेका छन् ।

अर्का मौसमविद डा. धर्मराज उप्रेतिले पनि शुक्रबारको दिन कुनै–कुनै ठाउँमा भारी वर्षा हुँदा बाढीको जोखिम हुनसक्ने बताउनु भयो।

तर जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने यो समाचार तयार पार्दासम्म भारी वर्षाको सम्भावनाबारे केही बताएको छैन ।

महाशाखाका मौसमविद लामिछानेले भन्नुभयो, ‘अहिलेसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हामीले भारी वर्षा हुने भनेका छैनौं । यदि भारी वर्षा हुने सम्भावना देखिएछ भने हामी भोलि नै अध्यावधिक गर्नेछौं ।’ मौसम छिटोछिटो परिवर्तन भइराख्ने भएकाले अहिले नै भारी वर्षा हुन्छ भनेर ठोकुवा गर्न नसक्ने उहाँले बताउनु भयो ।

उहाँका अनुसार पश्चिम नेपालबाट पानी पार्ने प्रणाली क्रमशस् पूर्वतिर सर्दै जाने र सातै प्रदेशका जिल्लाहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना देखिएको छ । यद्यपि सो प्रणालीलाई नजिकबाट नियालीरहेको उहाँले बताउनु भयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी र मध्य भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालका तराईका जिल्लाहरुमा भने तातो हावाको लहर कायम रहने सम्भावना छ ।

सम्बन्धित खबर