
बिर्तामोड । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को दिन आज झापाको बिर्तामोडमा महिलाको स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
इनर विल क्लव अन्तर्गतका इनर विल क्लव अफ बिर्तामोड मिडटाउन र इनर विल क्लव अफ अर्जुनधाराको संयुक्त आयोजनामा प्रिमेनोपोजल सिन्ड्रोम र महिलाको प्रजनन स्वास्थ्य विषयमा अन्तरक्रिया गरिएको हो ।
क्लबका अध्यक्ष लुना बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. प्रियंका कटुवालले महिलाको प्रजनन स्वास्थ्यको विषयमा प्रकाश पारेकी थिइन् ।
उक्त अवसरमा डा. कटुवालले महिलामा हर्मोनको असन्तुलनका कारण विभिन्न शारीरिक तथा मानसिक समस्या देखिनसक्ने बताइन् ।
‘हर्मोनको कमी वा असन्तुलनका कारण थकान, तनाव, निन्द्रा समस्या, मुड परिवर्तन, तौल बढ्ने, हड्डी कमजोर हुनेजस्ता समस्या देखा पर्न सक्ने छन्’ डा. कटुवालले सहभागीहरुलाई बताइन् ।
यस्तो समस्या भएमा कम गर्न र हुन नदिन सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त आराम र सकारात्मक जीवनशैली अपनाउन आवश्यक रहेको उनले जानकारी दिइन् ।
विशेषगरी हरियो सागसब्जी, फलफूल, प्रोटिनयुक्त खाना, दूध तथा क्याल्सियमयुक्त आहार सेवन गर्न र दैनिक शारीरिक गतिविधिमा ध्यान दिन डा. कटुवालको सुझाव थियो।
महिलाको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कमला कटुवालले गरेकी थिइन् ।


