२०८१ मंसिर २७, बिहिवार , ०७:३१:३७ बजे

Sajhamanch
'

दुर्घटना कम गर्न झापासहित तीन जिल्लामा आजदेखि टाइमकार्ड

शनिवार, मंसिर १५, २०८१

बिर्तामोड । सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ ।

ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान दिइरहेको बेला नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बसहरुको समयसीमा निर्धारण गर्न लागिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाइमा सुर हुन लागेको टाइमकार्डको शुभारम्भ आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले काँकडभिट्टामा गर्दैछन् ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई लक्षित गरी झापा, मोरङ र सुनसरी जिल्लामा टाइमकार्ड लागु गर्न खोजिएको हो ।

मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई टाइमकार्ड लागु हुने र अन्य सवारीसाधनलाई छड्के जाँच गरिने कार्यालयले जनाएको छ ।

पूर्वबाट जाने सवारीसाधनले तोकिएको समयअनुसार चलाए नचलाएको झापाका तीन ठाउँमा जाँच गरिनेछ ।

पूर्वबाट जाने सवारीसाधनहरुका लागि काँकरभिट्टा, बिर्तामोड र केर्खामा चेकिङ हुन्छ भने पश्चिमबाट आउनेहरुका लाागि दमकको ताराबारी, लक्ष्मीपुर र काँकरभिट्टामा चेकिङ हुने प्रहरीले जनाएको छ ।

टाइमकार्डअनुसार काँकरभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट तोकिएको छ । त्यस्तै, बिर्तामोडदेखि केर्खासम्मको २९ किलोमिटर दूरीका लागि ५१ मिनेट तोकिएको छ ।

झापामा गत कात्तिकमा १४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए । यसअघि २०७६ सालमा पनि झापामा टाइमकार्ड लागु भएको थियो । तर, त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिएको थिएन ।

शनिवार, मंसिर १५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर