२०८१ मंसिर २७, बिहिवार , ०३:१०:४० बजे

Sajhamanch
'

मोरङको धनपालथानको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

शुक्रवार, कार्तिक २३, २०८१

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ । जिल्ला अदालत मोरङबाट १० जनाको नाममा पक्राउ अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको हो ।

सो सहकारीको ठगी प्रकरणमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएमडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको छ । उनीमाथि भने प्रशासन मौन छ ।

मोरङकै माछापुछ्रे बचत तथा ऋण सहकारीको बचत अपचलनको मुद्दामा भने पूर्व सञ्चालक विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेका थिए । शिक्षण पेशामा रहेकी कोइराला सहकारीको कामकाजका बारेमा जानकार थिइनन् । पोखरेलको सल्लाहमा संस्थाका अध्यक्षले सहकारी सञ्चालन गर्ने गरेको उनी निकट स्रोत बताउँछ । तर पोखरेलले भने आफ्नी पत्नीलाई अध्यक्षले नै फसाएको दाबी गर्दै आएका छन् ।

उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जना विरुद्ध पक्राउ अनुमति लिइएको छ ।

सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।

प्रहरीले कागजात जफत गरेपछि सहकारीका अध्यक्ष रौनियारले प्रहरीले जबरजस्ती सामग्री जफत गरेको आरोप लगाएका छन् । तर प्रहरी प्रवक्ता जोशीले सञ्चालक समितिले असहयोग गरेपछि जनप्रतिनिधिको रोहबरमा ताला फोडेर सामग्री जफत गरेको बताए ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सम्बन्धित खबर