२०८१ असोज २४, बिहिवार , ०२:१३:५५ बजे

Sajhamanch
'

बिर्तामोड चिल्ड्रेन हस्पिटलको सेवा गुणस्तरीय रहेको सञ्चालकको दावी

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले सेवा सञ्चालन गरेको आजदेखि दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको छ । सो अवसरमा हस्पिटलले आज चाडपर्व विशेष शुभकामना आदान प्रदानसहित अस्पतालको सेवाका बारेमा पत्रकारहरु माझ जानकारी प्रवाह गरेको छ ।

हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष लीला मैनालीको अध्यक्षतामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहमा अस्पतालका बालरोग विशेषज्ञ डा. रूपक आचार्यले अस्पतालको सेवा प्रवाहका बारेमा तयार पारिएको प्रेसनोट वाचन गरेका थिए ।

उनका अनुसार बिर्तामोड चिल्ड्रेन हस्पिटल झापाको पहिलो बाल अस्पताल हो भने बितेको एक वर्षमा मात्र सो अस्पतालले २ हजार ७५१ जनालाई ओपिडी सेवा प्रदान गरेको थियो । यस्तै, हस्पिटलबाट १ हजार ७४ जनाले इमरजेन्सी सेवा लिएका थिए भने २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको जनाइएको छ । अस्पतालमा उपचारार्थ भर्ना भएका ९९ दशमलव ९ प्रतिशत बिरामीको सफल उपचार पछि निको बनाएर पठाएको डा. आचार्यको दावी थियो । यसकारण पनि बिर्तामोड चिल्ड्रेन हस्पिटलको सेवा गुणस्तरीय रहेको उनको दावी हो ।

बालबालिकामा अधिकमात्रामा देखा पर्ने मेनेन्जाइटिस, दिमागमा अक्सिजनको कमी, मुटुको समस्या, अटिजमजस्ता समस्याहरुको सफल पहिचान र उपचारकै कारण ९९ दशमलव ९ प्रतिशत बिरामीको सफल उपचार भएको डा. आचार्यले बताए । आफ्नो अस्पतालमा शल्यक्रिया सेवा सुरु नभएकाले हालसम्म २५ जनालाई अन्यत्र रिफर गर्नु परेको अवगत गराउँदै डा. आचार्यले अबको लक्ष्य सुविधा सम्पन्न भवन निर्माण गरी अस्पतालले सेवा विस्तार गर्नु रहेको बताए ।

पत्रकार लीला अनमोलले सञ्चालन गरेको सो विशेष समारोहमा मन्तब्य राख्दै अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष लीला मैनालीले आफूले साना नानीहरु बिरामी हुँदा उपचार गराउन भारतको सिलगढी पुर्याउनु पर्ने बाध्यता रहेको कारण सो को अन्त्य गर्न आफ्नै शहरमा बालअस्पताल खोलेको बताइन् ।

‘आफूहरुले छोरीलाई डाक्टर पढाएर सक्षम बनायौं, ज्वाई पनि डाक्टर नै पायौं अनि सबै मिलेर समाजको आवश्यकता पूरा गर्न बिर्तामोडमा नै बाल अस्पताल खोलेर सुविधा दिएका हौं’ अध्यक्ष मैनालीको भनाई थियो ।

अस्पतालमा बालबच्चाको उपचार गर्न ल्याउँदा बेलाबखत दुःखद घटना पनि हुने गरेका छन् भन्दै अध्यक्ष मैनालीले अस्पतालका विषमा केही समाचारयोग्य जानकारी आयो भने प्रशासनसँग यथार्थ बुझेर, सोधेरमात्र सत्य समाचार बनाइदिन पत्रकारसँग आग्रह गरिन् ।

अस्पतालका सिइओ डा. सुजाता मैनाली आचार्यले कार्यक्रममा उपस्थितहरुलाई शाब्दिक स्वागत गर्दै नवजात शिशुको उपचार गर्नु आफैंमा एउटा चुनौतीपूर्ण कार्य भएको बताइन् । नवजात शिशुको उपचार निक्कै संवेदनशील विषय भएकाले बिर्तामोड चिल्ड्रेन हस्पिटलले दक्ष एवम् अनुभवी चिकित्सकहरुबाट विशेषज्ञ सेवा प्रवाह गरेकै कारण परिणाम पनि राम्रो आइरहेको उनले जानकारी दिइन् ।

सो वार्षिक उत्सव समारोहमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र अस्पताल भवन रहेको नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकीले अस्पतालका सवल र दुर्वल पक्षहरु बारे जानकारी गराउँदै सुधार गर्न सुझाव दिएका थिए ।

सम्बन्धित खबर