२०८१ साउन ११, शुक्रवार , ०३:३६:४८ बजे

Sajhamanch
'

कोशी प्रदेश विकास परिषद्‌मा १५ सदस्य मनोनीत

सोमवार, जेठ २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश विकास परिषद्‌मा विभिन्न क्षेत्रका १५ जना उद्योगी, व्यवसायी र पेसाकर्मीलाई मनोनीत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत जेठ २५ गते बसेको बैठकले उक्त निर्णय लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् गठन गरेको हो ।

जसमा झापा गौरादह–१ का जितबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नवीन रिजाल, झापा दमककी राधिका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, सङ्खुवासभाकी बबिता कटुवाल, काठमाडौंका सुयस प्याकुरेल रहेका छन् ।

यस्तै उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बुढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी रहेका छन् ।

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ । उक्त दफा अनुसार परिषद्को अध्यक्ष मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्रीहरू र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरू, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समितिका सभापतिहरू, आयोगका उपाध्यक्ष तथा सदस्यहरू, प्रमुख सचिव, प्रदेश सरकार मुख्य महान्यायाधिवक्ता, प्रदेश सरकारका सचिवहरू, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू सदस्य रहने व्यवस्था छ ।

यस्तै उक्त दफाको उपदफा (छ) मा कानुन बमोजिम स्थापना भएका सङ्घ वा संस्थाका प्रतिनिधि तथा निजी क्षेत्र लगायत विभिन्न क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुऱ्याएका व्यक्तिहरूमध्येबाट कम्तीमा एक तिहाइ महिला सहित प्रदेश सरकारबाट मनोनीत पन्ध्र जना पनि सदस्य हुने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने प्रदेश योजना आयोगको सचिव रहने व्यवस्था छ ।

सम्बन्धित खबर