२०८१ जेठ ६, आइतवार , १०:३२:४७ बजे

Sajhamanch
'

अमेरिकामा प्रथम विद्वत धर्मसभा !

मङ्गलवार, वैशाख २५, २०८१

झापा । विश्व भूटानी हिन्दू संगठनअन्तर्गत वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत धर्मसभा सम्पन्न भएको छ ।

उक्त धर्मसभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानडाबाट स्वामी सुदर्शनाचार्यजी र डा. खेमप्रसाद नेपालको उपस्थिति थियो ।

सभामा अमेरिकाको १० वटाबढी शहरबाट १०० भन्दा धेरै गुरु, पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

दीप प्रज्ज्वलनसँगै उपस्थित गुरुजनले स्वस्तिवाचन गरी शुरु गरिएको उक्त धर्मसभामा समितिका उपाध्यक्ष आचार्य श्रीखिम खतिवडाले स्वागत गरेका थिए ।

समितिका अध्यक्ष कमल धिमालको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन समितिका बोर्ड चियर नारद अधिकारीले गरेका थिए ।

समाजकै वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ (पशुपति) खनालको प्रमुख आतिथ्यतामा भएको उक्त सभाको आवश्यकता र औचित्यबारे समितिको वैदिक निर्णायक समितिका संयोजक पं. श्रीहरि फुयालले प्रकाश पारेका थिए ।

सभामा अध्यक्ष धिमालले संस्थाको विगत र वर्तमानबारे चर्चा गर्दै विभिन्न चुनौति र अवसरहरूका विषयमा विभिन्न प्रस्तुतिका माध्यमबाट स्पष्ट पारेका थिए ।

उनले विश्व भूटानी हिन्दू संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावि योजनाका सम्बन्धमा पनि विभिन्न प्रस्तुति मार्फत स्पष्ट पारेका थिए ।

पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहेका वैदिक धर्मावलम्बी नेपालीभाषी भूटानीहरू कसरी एक भएर हाम्रा धरोहर–भाषा, धर्म, संस्कार, संस्कृति लगायत विभिन्न स्थानहरूमा स्थापित मठमन्दिरहरूको संरक्षण र संवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा स्वामी तथा विद्वज्जनले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

सहभागी विभिन्न विद्वज्जनद्वारा गरिएको लामो चर्चा–परिचर्चापछि उक्त धर्मसभाले विभिन्न निर्णयहरु गरेको छ ।

सो धर्मसभामा उपस्थित स्वामी केशावाचार्य, स्वामी दामोदराचार्य, स्वामी कृष्णप्रपन्न, स्वामी रामानुजाचार्य तथा क्यानडाबाट स्वामी सुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दू संगठनले ‘धर्म–संवाहक’ उपाधिद्वारा अभिनन्दन गर्दै संस्थाको सम्मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।

वासुदेवशरण महाराज, स्वामी वासुदेवाचार्य, स्वामी गोविन्दाचार्य, स्वामी भागवताचार्य, स्वामी कृष्ण प्याकुरेल, पण्डित शिवप्रसाद पोख्रेल, पण्डित महेश्वर रेग्मी र वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ खनाललाई यसअघि नै अभिनन्दनसहित सम्मानार्थ सदस्यता प्रदान गरिएको संस्थाका अध्यक्ष धिमालले जानकारी दिए ।

त्यस्तै, २०१७ सालदेखि विश्व भूटानी हिन्दू संगठन अन्तर्गत वैदिक निर्णायक समिति र पञ्चाङ्ग निर्माण समितिसँग आबद्ध समाजका विद्वान तथा विदुषीहरूले दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै सो धर्मसभामा सम्मान गरिएको थियो ।