२०८१ जेठ ६, आइतवार , १०:३२:४६ बजे

Sajhamanch
'

मेचीनगरका ६ जनामा हात्तीपाइले रोगको आशंका, ९ दिनमा ६२ प्रतिशतले सेवन गरे औषधि

मङ्गलवार, वैशाख २५, २०८१

मेचीनगर । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहँदा मेचीनगर नगरपालिकामा सो रोगको लक्षण भएका बिरामी भेटिएका छन् ।

उक्त अभियानका क्रममा वैशाख १६ गते नगरका ३ वटा वडामा सो रोगको लक्षण भएका ६ जना बिरामी फेला परेका नगर स्वास्थ्य शाखाका सह संयोजक राम अधिकारीले बताए ।

उनका अनुसार वडा नम्बर ३ का ३ जना, वडा नम्बर ७ का २ जना र वडा नम्बर ६ का १ जनामा उक्त रोगको लक्षण देखिएको हो ।

वडा नम्बर ९ का २ जनामा पनि सोही रोगको लक्षण भएका व्यक्ति रहेको सूचना आएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

लक्षण देखिएका व्यक्तिलाई थप जाँच गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइने शाखाका सह संयोजक अधिकारीले जानकारी दिए ।

सो अस्पतालमा बिरामीको रगत र अन्य परीक्षण गरेपछि मात्र हात्तीपाइले रोग लागेको हो÷होइन भन्ने प्रमाणित हुने उनले बताए । ‘हात्तीपाइले रोगको जाँच प्रक्रिया केही लामो हुन्छ, पुष्टि हुन केही दिन लाग्छ ।’, शाखाका सह संयोजक अधिकारीले भने ।

८३ हजार ४ सय ४० जनाले सेवन गरे औषधि

नगर स्वास्थ्य शाखाका अनुसार अभियानका क्रममा मेचीनगरमा ८३ हजार ४ सय ४० जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

नगरको कूल १ लाख ३५ हजार ८५ जनसंख्यामध्ये अभियानको ९ औँ दिनसम्ममा ६२ प्रतिशतले औषधि सेवन गरेका नगर स्वास्थ्य शाखा संयोजक सविता सापकोटा (निरौला) ले बताइन् ।

“औषधि सेवन नगर्नेको संख्या निकै छ, जोखिम अझै उस्तै छ” उनले भनिन्, “यो रोग लागेपछि निको हुँदैन, त्यसैले सबैले औषधि सेवन गरौँ ।”

सम्बन्धित खबर