२०८१ जेठ ६, आइतवार , १०:३२:४१ बजे

Sajhamanch
'

मेचीनगर–६, ७ र ९ मा वित्तीय साक्षरता एवं मनोसामाजिक परामर्श कक्षा सम्पन्न

मङ्गलवार, वैशाख २५, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाका ३ वटा वडामा सञ्चालित वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धी २१ हप्ते कक्षा समापन भएको छ ।

वैदेशिक रोजगारमा रहेका व्यक्ति र तिनका परिवारलाई लक्षित गरी नगरले ४ वटा वडामा शुरु गरेको उक्त कक्षा ३ वटा वडामा समापन भएको हो ।

पछिल्लो चरणमा नगरको वडा नं. ९, ७, ६ र १ मा शुरु गरिएको सो कक्षा वडा नं. १ मा सञ्चालन भइरहेको छ । यसअघि नगरको वडा नं. १३, १४ र १५ तथा वडा नंं ४ को विभिन्न टोलमा सो कक्षा सञ्चालन गरिएको थियो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले विभिन्न चरणमा सञ्चालन गर्दै आएको उक्त कक्षा नगर उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यतामा समापन भएको हो ।

त्यसक्रममा प्रमुख अतिथि उप्रेतीले वित्तीय साक्षरताको महत्वबारे धारणा राख्दै कमाएको पैसाको सदुपयोग भए मात्र भविष्य उज्ज्वल बन्ने बताइन् ।

रोजगार खोज्दै विदेशिनु व्यक्तिको बाध्यता रहेको चर्चा गर्दै उनले आर्जन गरेको रकमले श्रमिक र तिनको परिवार मात्र नभई विप्रेषणबाट समाज र देशमै सकारात्मक प्रभाव परेको बताइन् ।

कक्षा समापन कार्यक्रमको अध्यक्षता गर्दै मेचीनगर–७ का अध्यक्ष प्रल्हादमणि ओलीले प्रत्येक मानिसले आर्जेको रकमलाई उचित व्यवस्थापन गरेमा आर्थिक संकट टार्न समस्या नहुने बताए ।

उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रहसमेत गरे ।

सो कार्यक्रमको सहजीरकण वित्तीय साक्षरता सहजकर्ता एवं परियोजनाका मेचीनगर फोकल पर्सन प्रमि पाठक (कट्टेल) र मनोसामाजिक परामर्शकर्ता प्रतिभा राईले गरेका थिए ।

९० जनाको सहभागिता रहेको सो तालिममा उनीहरुले वित्तीय व्यवस्थापन र मनोसामाजिक विषयमा प्रशिक्षण दिएका थिए ।

समापनका अवसरमा सहभागीका तर्फबाट बबिता मैनाली, ज्योती खरेल लगायतले कार्यक्रम प्रभावकारी भएको अनुभव सुनाएका थिए । सो कार्यक्रमको सञ्चालन सामीका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले गरेका थिए ।

अहिले जिल्लाको मेचीनगरसहित भद्रपुर र दमक नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकामा पनि उक्त परियोजना सञ्चालन भइरहेको छ ।

सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खबर