२०८१ जेठ ६, आइतवार , १०:३४:११ बजे

Sajhamanch
'

बुद्धशान्ति–१ ले वडाका कृषकमा जगायो उत्साह

सोमवार, वैशाख २४, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाको १ नं. वडा कार्यालयले अनुदान सहयोगको कार्यक्रम ल्याएसँगै वडाका पशुपालक कृषकहरु बायो ग्यासतर्फ आकर्षित भएका छन् ।

दीर्घकालीन योजना अन्तर्गत उक्त वडा कार्यालयले बायो ग्यास जडान गर्ने कृषकलाई १० हजार रूपैयाँ अनुदान सहुलियत दिएपछि वडामा बायो ग्यासको प्रयोग बढेको हो ।

वडाले ऊर्जामा हुँदै आएको खर्च कटौति गर्न र २० वर्ष बढी टिकाउ हुने गोबर ग्यास निर्माण गर्न प्रति प्लान्ट १० हजार रुपैयाँ अनुदान सहयोग गरेपछि आर्थिक वर्ष २०८०–०८१ मा बायो ग्यास जडान गर्ने कृषक बढेका हुन् ।

नागरिकका नवीनतम आवश्यकता पूरा गर्न योजनाबद्ध ढंगले अघि बढेको सो कार्यालय पशुपालक कृषकलाई हौसला थप्न विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

पशुपालक किसानलाई थप सहुलियत उपलब्ध गराउन वडाले गाई भैँसीको एआई सेवामा पनि सहुलियत दिइरहेको छ । कृत्रिम गर्भाधान सेवामा किसानको १०० र बाँकी ३०० रुपैयाँ वडाले सहुलियत दिँदै आएको हो ।

वडा कार्यालयले अनुदान रकम व्यवस्थापन गरेर लोककल्याण बायो ग्यास कम्पनी र मुनाल बायो ग्यास कम्पनीसँग साझेदारी गरेपछि वडाका २९ वटा घरमा गोबर ग्यास प्लान्ट स्थापना भएको छ ।

सिलिण्डर ग्यासको प्रयोग गर्दा प्रति परिवार वार्षिक २० हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च भइरहँदा वडा कार्यालयको सहयोगमा ६ घनको ग्यास प्लान्ट निर्माण भएको हो । वडा नं. १ का अध्यक्ष अनिल वाग्लेका अनुसार सो वडाका कृषकको गोठमा १९ सय ६० वटा गाई छन् ।

पछिल्लो समय उक्त वडाका कृषकमा बायो ग्यास स्थापना गर्ने चासो र उत्साह बढ्न थालेको उनको भनाई छ । कृषकको मागलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षमा बायो ग्यास प्लान्ट विस्तारमा बजेट व्यवस्थापन गर्ने योजना रहेको वडा अध्यक्ष वाग्ले बताउँछन् ।

“विकास भन्नाले बाटोघाटो, पुलपुलेसा मात्रै हो भन्ने बुझ्नु हुँदैन” उनी भन्छन्, “नागरिकको दैनिकी सहज बनाउनु, नागरिकको खर्च घटाउने दीर्घकालीन योजना लागू गर्नु, बहुउपयोगी कार्यक्रम मार्फत सुविधा दिनु पनि हो ।”

वडा कार्यालयको सहयोगले सिलिण्डर ग्यासको प्रयोग घट्दा यसबाट निस्किएको गोबरबाट गुणस्तरीय जैविक मल बनाउन मिल्ने मुनाल बायो ग्यास कम्पनीका महाप्रबन्धक श्याम खनाल बताउँछन् ।

विश्वभर बढ्दो क्रममा रहेको ऊर्जा संकट घटाउन बायो ग्यास प्लान्टको भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

कार्वन उत्सर्जनमा समेत सहयोग गर्ने बायो ग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा कृषकलाई चौतर्फि फाइदा पुग्ने नेपाल बायो ग्यास प्रवर्द्र्धन संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेती बताउँछन् ।

लोककल्याण बायो ग्यास कम्पनी, मुनाल बायो ग्यास कम्पनी, सो वडा कार्यालय र उपभोक्तासमेतको त्रिपक्षीय कार्यक्रम अन्तर्गत २१ लाख २४ हजार रुपैयाँको कूल लागतमा २९ घरमा बायो ग्यास स्थापना भइरहेको छ ।

बायो ग्यास स्थापना गर्न वडा कार्यालयले ३ लाख बजेट विनियोजन गरेर कार्यक्रम अघि बढाएको बताउँदै वडा अध्यक्ष वाग्ले ३० वर्षसम्म चल्ने प्लान्टले खर्च कटौतीमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।

गोबर ग्यास प्लान्ट बनाउन वडाबाट भएको सहयोगले राहत मिलेको प्रतिक्रिया दिँदै स्थानीय पदम भूर्तेल भन्छन्, ‘समय र पैसाको बचत मात्रै होइन, अब संकटमा समेत सहज हुने विश्वास छ ।’

सो वडाका केही कृषक लामो समयदेखि गोबर ग्यास प्रयोग गर्दै आएका छन् । बायो ग्यासले जनजीवनलाई सहज बनाउन मद्दत पुग्ने भन्दै सो वडावासी नन्दकुमार तिम्सिना वडाले उक्त कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउँछन् ।

बायो ग्यास निर्माणका लागि प्रयोग गरिएका सामग्री र मेकानिजम अत्यन्तै मजबुत भएको दाबी गर्दै प्राविधिक लेखनाथ अधिकारी प्रयोगकर्ताले प्लान्ट संरक्षणमा ध्यान पुर्याए लामो समय टिक्ने बताउँछन् ।

सम्बन्धित खबर