२०८१ जेठ ७, सोमवार , ११:३२:२७ बजे

Sajhamanch
'

कर्णाली साकोसको शेयर सदस्य विस्तारित भेला निरन्तर जारी

आइतवार, वैशाख १६, २०८१

झापा । कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गत चैत १५ गतेदेखि सुरु गरेको सदस्य विस्तारित भेलाको ११औं कार्यक्रम आइतबार ३ वटा सेवा केन्द्रका शेयर सदस्यमाझ बुधबारेमा सम्पन्न गरेको छ ।

झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले सदस्य विस्तारित भेलालाई अभियानका रुपमा अघि बढाएको जनाएको छ । सोही क्रममा साकोसले बुधबारे बजारमा आइतबार भेला आयोजना गरेको हो ।

उक्त सदस्य विस्तारित भेलामा झापाको बुधबारे, इलामको फिक्कल र हर्कटे सेवा केन्द्रबाट २२० जना शेयर सदस्य सहभागी रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलाको उद्घाटन गर्दै झापा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द पौडेलले कर्णाली साकोसको आर्थिक कारोबार एवम् सदस्यहरुसँगको गतिविधि निरीक्षण गर्दा सबल, सक्षम र सुरक्षित पाइएको बताए ।

‘सहकारी विभिन्न कारणले बिग्रिन्छ, संस्थाप्रति भरोसा गर्नुपर्छ, अपनत्व महसूस गर्न सक्नुपर्छ, संस्थालाई मेरो हो भन्ने भावना विकास हुनुपर्छ’, भेलामा संघका कोषाध्यक्ष पौडेलले सहभागीहरुलाई बताए ।

ठूलो रकम बैंकमा र सानो पैसा सहकारीमा राखेर सहकारीबाट ऋण पाइएन भन्ने गुनासो गर्नुको अर्थ नरहने भन्दै पौडेलले थपे, ‘कोही व्यक्ति वा समूह विशेषको उक्साहटमा नारा जुलूश गर्दै ऋण तिर्नु पर्दैन भनियो भने संस्थाप्रतिको भरोसा गुम्छ ।’

निजी बैंक र सहकारीसँग लिएको ऋण राज्यले मिनाहा गर्न नसक्ने भन्दै कोषाध्यक्ष पौडेलले तपाइँले खाएको ऋण कहिल्यै मिनाहा नहुने र पछिल्लो पुस्ताबाट भए पनि असुल हुने बताए ।

“ढिलो चाँडो, धेरै थोरै होला तर पैसा नतिरी हुँदैन” पौडेलले भने, “कसैको लहडमा लाग्नुको अर्थ छैन, एकजना ऋणीले नतिर्दा १० जना बचतकर्ताको पैसा संकटमा पर्छ, यसले कसैको पनि भलो गर्दैन, यो कुरा बुझ्नु र बुझाउनुपर्छ ।”

सो कार्यक्रममा आयोजक साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले ‘संस्थाको वर्तमान अवस्थाको समीक्षा र सदस्यहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले भेला आयोजना गर्नुको औचित्य प्रकाश पार्दै भने, ‘कार्यपत्र पढेर जिज्ञासा र सुझाव संस्थामा पठाउनुहोला, संस्थामा कमी कमजोरी भए औंल्याइ दिन मेरो आग्रह छ, संस्थामा नीतिगत समस्या भए सुझावको अपेक्षा गर्छु ।’

त्यसक्रममा उनले सहकारी डुब्नुका कारण, कस्तो प्रकृतिका सहकारी डुबे, सहकारी जोगाउन सञ्चालक र सदस्यले खेल्नुपर्ने भूमिका लगायत विषयमा सहभागीलाई अवगत गराए ।

“संस्थाले सञ्चालन गर्ने कार्यक्रम शेयर सदस्यलाई जानकारी गराएर सदस्यले स्वीकृत गरेपछि मात्रै नीति तथा कार्यक्रम तर्जुमा गर्दै आएका छौँ” अध्यक्ष श्रेष्ठले भने, “संस्थाको सर्वोपरि हित हुने मार्गदर्शन भए प्रदान गर्न आग्रह छ ।”

सदस्यहरु चनाखो भए मात्र संस्था प्रगतिपथमा लम्किने भन्दै उनले थपे, ‘संस्थामा सदस्य जागरुक हुँदा सञ्चालक सचेत हुन्छन्, नहुँदा मनपरि हावी हुनसक्छ ।’
सो कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले ‘संस्थाको वर्तमान अवस्थाको समीक्षा एवम् सदस्यहरुको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्रमा संस्थाको ऐतिहासिक पृष्ठभूमि, कोशी प्रदेशका सहकारीहरुको अवस्था र योगदान, सहकारीमा सेयर सदस्यहरुको भूमिका, दायित्व र अधिकारका विषयमा प्रकाश पारिएको छ ।

यसैगरी महिला सशक्तिकरणमा सहकारीको भूमिका र योगदान, कर्णाली सहकारीले समुदाय र सदस्यहरुको सामाजिक सुरक्षामा पुर्याएको योगदान, संस्थाको प्रगति एवम् दिगोपनका आधारहरु जस्ता विषयमाथि अध्यक्ष श्रेष्ठले सहभागीहरुलाई ब्याख्या गरेका थिए ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई बुधबारे सेवा केन्द्र व्यवस्थापन समितिका सदस्य देवीमाया तामाङले शाब्दिक स्वागत गरेकी थिइन् ।

बिर्तामोड–४ मा प्रधान कार्यालय रहेको उक्त साकोसले संस्थाको गतिविधि बुझाउन, सदस्यसँग सुझाव लिन र आगामी नीति तथा कार्यक्रम तय गर्न विस्तारित भेला गर्दै आएको हो ।

गत फागुन १५ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले विस्तारित भेलाका लागि शेयर सदस्य छनोट गर्न विभिन्न मापदण्ड तयार गर्ने निर्णय गरेको थियो ।
संस्थाले सोही निर्णयबमोजिम यसअघि विभिन्न सेवा केन्द्रबाट छानिएका सदस्यहरुलाई सहभागी गराई मोरङको उर्लाबारी र दाम्राभिट्टा, झापाको दमक, गौरादह, झिलझिले, सुरुङ्गा, बिर्तामोड र धुलाबारीमा संयुक्त कार्यक्रम गरिसकेको छ ।

‘मेरो कर्णाली, मेरो समृद्धिको आधार, जन्मदेखि मृत्युसम्म कर्णाली’ भन्ने मूल उद्घोषसहित २४ वर्षअघि स्थापना भएको उक्त साकोसले सदस्यमैत्री विभिन्न कार्यक्रम गर्दै आएको पाइएको छ ।

सम्बन्धित खबर