२०८१ वैशाख २२, शनिवार , ०२:३९:२९ बजे

Sajhamanch
'

माल्दिभ्स संसदीय चुनाव : चीनलाई समर्थन गर्ने दललाई दुईतिहाइ बहुमत

सोमवार, वैशाख १०, २०८१

माल्दिभ्समा भएको संसदीय चुनावमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । ९३ सदस्यीय संसद्मा मुइज्जुको पिपल्स् न्याश्नल कंग्रेस (पीएनसी) ले ६६ स्थान जितेको प्रारम्भिक नतिजामा बीबीसीले जनाएको छ ।

देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पीएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको हो । पीनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने मुइज्जुको नीति नागरिकबाट अनुमोदित भएको मानेका छन् ।

चीन पक्षधर भनिएका मुइज्जु माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउने पक्षमा हुनुहुन्छ । माल्दिभ्सको यसअघिको सरकारले लिएको पहिला भारत भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित उहाँले अभियान चलाउनुभएको छ । उहाँ राष्ट्रपति भएपछि माल्दिभ्समा रहेका भारतीय सेना फिर्ता गर्ने क्रम शुरु भएको छ ।

यसअघि बहुमतमा रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले जम्मा १५ सिट जितेको छ । चुनावको परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ ।

भारतीय सैन्य टोलीलाई फिर्ता पठाउने मुइज्जुको निर्णयका कारण भारत र माल्दिभ्सको सम्बन्धमा समस्या आएको छ । चीनले त्यसबाट फाइदा लिन खोजेको देखिन्छ । गएको जनवरीमा चीन भ्रमणमा गएका माल्दिभ्सका राष्ट्रपति मुइज्जुले चिनियाँ लगानी भित्राउने विषयमा विभिन्न सहमतिमा हस्ताक्षर पनि गर्नुभएको छ ।

सम्बन्धित खबर