२०८१ वैशाख २०, बिहिवार , ०८:४६:३७ बजे

Sajhamanch
'

उद्योग–व्यवसाय क्षेत्रमा सूचना प्रणालीको संस्थागत विकास सम्बन्धी झापामा अभिमुखीकरण

शुक्रवार, वैशाख ७, २०८१

झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ ।

महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योगी–व्यवसायीहरुले श्रम बजारमा सूचना प्रणालीको संस्थागत विकासका लागि प्रदेश महासंघले थालेको प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै हाल उद्योग प्रतिष्ठानहरुमा यसले कामदार सम्बन्धी माग र आपूर्तिको बेमेललाई सम्बोधन गर्ने बताएका थिए ।

झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले श्रम बजार सम्बन्धी अध्ययन नभएकोले रोजगारदाताले दक्ष कामदार पाउन नसकेको बताउँदै चिया, चामल उद्योगहरुमा अहिले पनि दक्ष कामदारको अभाव रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले मुलुकको समग्र परिस्थितिमा सुधार नभएसम्म उद्योग प्रतिष्ठानहरुले प्रगति गर्न नसक्ने बताए । उनले लगानीमैत्री वातावरण निर्माणका लागि नीति आवश्यक रहेको बताउँदै सोही अनुसार उद्योग–व्यवसाय क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए ।

यस्तै, मेची उद्योग वाणिज्य संघका महासचिव एवम् भेनियर व्यवसायी दिनेश शाक्यले झापामा करिब चार हजार कामदार रहेको भेनियर उद्योगमा ९० प्रतिशत कामदार भारतीय रहेको बताए । उनले नेपाली कामदारलाई दक्ष बनाउन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले उद्योगको सीपलाई आधार मानेर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले सफ्टवेयर प्रणालीमा रोजगारदालाई जोड्न खोजेको उद्योग प्रतिष्ठानहरुले आफ्ना जनशक्तिलाई पनि दक्ष बनाउन उत्प्रेणा जगाउनुपर्ने बताए ।

झापाका विभिन्न उद्योग–प्रतिष्ठानहरुका करिब ४० जना प्रतिनिधि सहभागी रहेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रष्ट पार्दै यसमा जोडिन सबैलाई आग्रह गरेका थिए ।

सम्बन्धित खबर