२०८१ वैशाख १९, बुधवार , ०६:४१:५३ बजे

Sajhamanch
'

पाउ पाथीभरा मन्दिरमा वाल्मिकीय रामायण ज्ञान महायज्ञ, भक्तजनको घुइँचो

आइतवार, वैशाख २, २०८१

मेचीनगर । पूर्वको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पाउ पाथीभरा मन्दिरमा श्रीमद् वाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ भइरहेको छ ।

झापाको चारआलीस्थित सो मन्दिर परिसरमा जारी महायज्ञको प्रमुख कथावाचक आचार्य शान्तिराम नेपाल र उपवाचक आचार्य गायत्री दाहाल छन् ।

महायज्ञमा भइरहेको संगीतमय कथाप्रवचन र पाठ वाचन श्रवण गर्न भक्तजनहरुको दैनिक घुईंचो लाग्ने गरेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिका वरिष्ठ उपाध्यक्ष यामनाथ बरालले बताएका छन् ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याण, शान्ति एवं धार्मिक धामको सुदृढ व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बरालको भनाई छ ।

रामनवमी पर्वको सन्दर्भ पारेर वर्षेनी आयोजना हुँदै आएको महायज्ञलाई यसवर्ष पनि निरन्तरता दिइएको उनले बताए ।

“महायज्ञ लगाउनुको मूल उद्देश्य धर्म, संस्कार र संस्कृति जोगाउनु नै हो” बरालले भने, “भक्तजनले स्वेच्छिक ढंगले चढाएको दान, दक्षिणा र भेटीले नै पुराण खर्च धान्छ भन्ने अनुमान गरेका छौं ।”

यज्ञाचार्य खगेन्द्र रिजालबाट अनुष्ठान अवधिभरको पूजापाठलगायत धार्मिक कर्म भइरहेको जानकारी दिँदै उनले थपे, ‘नयाँ वर्षले पनि होला पुराणको पाँचौँ दिन १५ हजार बढी भक्तजन भेला भएका थिए ।’

सप्तमी, अष्टमी र नवमीका दिन भक्तजनको भीड बढ्नसक्ने पूर्वानुमान गर्दै उनले भक्तजनको संख्या अरुबेला दैनिक ५०० को हाराहारीमा हुने गरेको बताए ।

“पुराण अवधिभरमा विहे, ब्रतबन्ध लगायतका कर्म हुन्छ, छैटौँ दिनमा एउटा विहे भयो, रामनवमीमा सामुहिक ब्रतबन्ध हुन्छ” बरालले भने, “व्यक्तिगत गर्नेलाई जहिल्यै पनि मिल्छ, घरमा नजुर्नेले अनुकूलता हेरेर गर्ने हो, ब्रतबन्ध गर्ने इटहरीका ४ जनाको नाम टिपेका छौं ।”

महायज्ञलाई सुव्यवस्थित रुपमा सम्पन्न गर्न समितिका अध्यक्ष तिलकप्रसाद गिरीको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै, महायज्ञमा कथा श्रवण गर्न आउने श्रद्धालु भक्तजनहरुको सहजताका लागि १५ वटा विभिन्न उपसमिति निर्माण गरी परिचालन गरिएको जनाइएको छ ।

गत चैत्र २७ गतेदेखि शुरु भएको महायज्ञ आउँदो वैशाख ५ गते रामनवमी पर्वका दिन विधिवतरुपमा  समापन हुँदैछ ।

झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एकमणि नेपालबाट २०७१ साल असोज ११ गते सो मन्दिरको विधिवत् उद्घाटन गरिएको थियो ।

सम्बन्धित खबर