२०८१ वैशाख १९, बुधवार , ०९:५७:४० बजे

Sajhamanch
'

कमल नगर अस्पतालमा सेवा विस्तारसँगै सेवाग्राही बढे

मङ्गलवार, चैत २७, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित कमल नगर अस्पतालमा सेवा विस्तार भएसँगै सेवाग्राहीको संख्यामा वृद्धि हुन थालेको छ ।

तत्कालीन तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी कमलनगर अस्पतालबाट सेवा सञ्चालन गरिएको १३ महिना पुग्नै लाग्दा सेवाग्राहीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।

“स्वास्थ्य चौकी हुँदा दैनिक १०–१५ जना सेवाग्राही आउनुहुन्थ्यो हामी दिनभरि फुर्सदमा हुन्थ्यौं” अस्पतालको ल्याब असिस्टेन्ट गीता न्यौपाने भन्छिन्, “तर अहिले सेवाग्राहीलाई सेवादिन भ्याई नभ्याई छ ।”

सेवाग्राहीको संख्यामा वृद्धि भएसँगै अस्पतालले थप सेवा विस्तारका साथै अस्पतालमा ओपिडीको समयसमेत विस्तार गर्नुपर्ने सेवाग्राही बताउँछन् ।

अस्पतालले हाल बिहान १० देखि ५ बजेसम्म मात्र सेवा प्रवाह गर्दै आएको छ । यो समयमा नियमित औषधि सेवन गर्ने कर्मचारीलाई समस्या भएकाले अस्पतालको सेवालाई विस्तार गरी २४ घण्टे सेवा सञ्चालन गर्नुपर्ने सेवाग्राही खिबलाल कुइँकेल बताउँछन् ।

अस्पतालले स्वास्थ्य बीमाका अतिरिक्त एमबीबीएस डाक्टरसहितको सेवा प्रवाह गरिरहेको छ । सेवालाई थप गुणस्तरीय बनाउन अहिले ल्याब, एक्स–रेसहितको सेवा सञ्चालनमा छ ।

केही महिनाभित्रै भिडियो एक्स–रेसमेत सञ्चालन गर्ने तयारी गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक दीपकप्रसाद दाहालले बताए ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न अस्पताल व्यवस्थापन समिति लागिपरे पनि सेवाग्राहीको संख्या दिनानुदिन बढिरहेकाले भौतिक संरचना विस्तारको तयारीसमेत थालिएको जनस्वास्थ्य निरीक्षक दाहालले बताएका छन् ।

अस्पतालबाट बीमा सुविधासँगै सम्पूर्ण सेवा प्रदान भइरहेको छ । त्यस्तै, बिरामीको माग अनुसार २४ सै घण्टा सेवा सञ्चालन गर्ने विषयमा समेत अस्पताल प्रशासनबीच छलफल भइरहेकाले केही महिनाभित्रै थप सुविधासहितको सेवा प्रवाह गर्न अस्पताल लागिपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा फुलक चन्द्र लावती बताउँछन् ।