२०८१ मंसिर ८, शनिवार , ०१:४७:३४ बजे

Sajhamanch
'

झापाको बाह्रदशीमा चम्लागाईं परिवारद्वारा खाद्यान्न वितरण

सोमवार, चैत १७, २०७६

झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ ।

बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५०० केजी चामल र ३५० केजी नून वितरण शुरु गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन् ।

समाजसेवी युवा देवेन्द्रप्रसाद चम्लागाईका पिता लोकनाथ चम्लागाई, माता डिकुरादेवी चम्लागाई, दाजुहरु प्रेमप्रसाद चम्लागाई र महेन्द्रप्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण गरिएको हो । वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का गरिबहरुलाई चामल र नून प्रदान गरिएको लम्सालले जानकारी दिएका छन् ।

सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा गरिव परिवार पहिचान गरी हरेक वडामा ५०० केजी चामल र ५० केजी नून पहिलो दिन वितरण गरिएको छ । यो वितरण कार्यलाई सबै वडामा पुर्याउने चम्लागाई परिवारले बताएको छ ।

अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैर आवासीय नेपाली संघका मानार्थ आइसीसी सदस्य महेन्द्र चम्लागाई कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्याक्तित्वका रूपमा परिचित छन् ।

उनले यो विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनी कतारबाट यो कार्यको लागि २ लाख रुपैयाँ पठाएका थिए । महेन्द्रकै प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको र यसमा समग्र चम्लागाई परिवारले साथ दिएको बताइएको छ ।

आफ्नो गाउँको शैक्षिक, भौतिक, साँस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि सहयोग गर्ने गरेको इतिहास छ ।

सम्बन्धित खबर