२०८३ जेठ २० बुधवार , ०७:०१:३० बजे

Sajhamanch
'

झापामा इष्टर्न सहाराको विशेष साधारणसभा सम्पन्न

बुधवार, जेठ २०, २०८३

झापा । ‘दिगो समृद्धिका लागि हरित लगानी’ भन्ने मूल नाराका साथ स्थापित इष्टर्न सहारा कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बुधबार बिर्तामोडमा सम्पन्न भएको छ ।

इष्टर्न सहाराका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा आज भएको विशेष साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्तावलाई सर्वसम्मत अनुमोदन गरेको जनाइएको छ । कम्पनीको पूँजी अब दुई अर्ब २० करोड रुपैयाँको हुने बताइएको छ ।

जसमध्ये एक अर्ब ७६ करोड संस्थापक शेयर र ४४ करोड सर्वसाधारण तर्फको शेयर हुने छ । पाइपलाइनमा रहेको ईष्टर्न सहाराको आइपीओ आगामी पुससम्ममा कम्पनीले निष्काशन गर्ने अनुमान गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

विशेष साधारण सभामा अध्यक्ष गिरीले कम्पनीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन परियोजनाहरुमा लगानी गरिरहेको र शेयर धनीहरुलाई उच्चतम प्रतिफल दिने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

हाइड्रोपावर, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा कम्पनीले लगानी गरिरहेको बताउँदै अध्यक्ष गिरीले कम्पनीले हरित हर्थतन्त्र, वातावरणीय संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै अघि बढिरहेको जानकारी दिए ।

अध्यक्ष गिरीका अनुसार छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनामा लगानी गर्नु कम्पनीको मुख्य उद्देश्य हो । आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्दैछ– अध्यक्ष गिरीले भने– यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउनेछ ।

बिर्तामोडमा मुख्य कार्यालय र काठमाडौंको बानेश्वर हाइटमा सम्पर्क कार्यालय रहेको कम्पनीका प्रबन्ध सञ्चालक कृष्ण रानाभाटले विशेष साधारणसभाको आवश्यकता र औचित्यसहित कम्पनीको गतिविधिबारे जानकारी गराएका थिए ।

कम्पनीका सञ्चालक कल्पना विश्वकर्माले स्वागत गरेको सभाको सञ्चालन कम्पनीका सदस्य एकराज गिरीले गरेका थिए ।

२०८२ पुस २७ गते तेस्रो वार्षिक साधारणसभा गरेको उक्त कम्पनी हाल आइपिओका लागि सेवनको पाइपलाइनमा रहेको छ । जतिसक्दो छिटो आइपिओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न कम्पनी अघि बढ्ने गरी विशेष साधारणसभा गरिएको बताइएको छ ।