२०८३ जेठ १८ सोमवार , १०:०६:५४ बजे

Sajhamanch
'

आगलागीपछि झापा इनर्जीमा आधा उत्पादन घट्यो

सोमवार, जेठ १८, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा रहेको झापा इनर्जीको प्लान्टमा आगलागी भएपछि केही दिनका लागि आधा विद्युत् उत्पादन घट्ने भएको छ ।

आज दिउँसो १ः४२ बजे सौर्य ऊर्जा उत्पादन गर्ने झापा इनर्जी लिमिटेडमा ओभर टेम्परेचरका कारण मुख्य इन्भर्टरमा आगलागी भएको हो ।आगलागीबाट विभिन्न मेसिनहरु जल्दा करोडौं रुपैयाँको क्षति भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुभास केसीको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय शिवगंजबाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल साथै स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासमा दिउँसो २ः५० बजे पूर्णरुपमा आगो नियन्त्रणमा आएको थियो । सो आगलागी पछि झापा इनर्जीबाट उत्पादन हुँदै आएको ५ मेगावाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द भएको छ ।

झापा इनर्जीका प्रबन्ध संचालक सुवास भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी १० मेगावाट क्षमताको सौर्य विद्युत् आयोजनामा जडान गरिएका दुईवटा ५ एमभीए क्षमताका इन्भर्टरहरुमध्ये एउटा इन्भर्टरमा आगलागी भएको उल्लेख गर्दै उक्त घटनापछि सो इन्भर्टरमार्फत उत्पादन हुँदै आएको ५ मेगावाट विद्युत् उत्पादन अस्थायीरूपमा बन्द भएको जनाउनु भयो ।

कम्पनीले प्रभावित इन्भर्टरलाई यथाशीघ्र प्रतिस्थापन गरी आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

आगलागीको कारणबारे कम्पनीको आन्तरिक प्राविधिक टोलीले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ । प्रारम्भिक अध्ययनका आधारमा इन्भर्टरको आन्तरिक प्राविधिक समस्याका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

उक्त इन्भर्टर खरिद गर्दा प्राप्त वारेन्टी अवधि अझै बाँकी रहेको र सम्बन्धित उत्पादक तथा आपूर्तिकर्ता कम्पनीलाई घटनाबारे औपचारिक जानकारी गराइसकिएको प्रबन्ध सञ्चालक भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सम्बन्धित खबर