
काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधिसभाको बैठकमा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् ।
आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति देशको सार्वभौमिकता विपरीत रहेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण प्रधानमन्त्रीले २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भारतको कुन–कुन क्षेत्रमा नेपाली पक्षबाट भूमि अतिक्रमण भएको हो भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० की सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले संसद्को रोस्ट्रमबाट भारतको वकालत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले प्रधानमन्त्री शाहले कुन आधारमा नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको अभिव्यक्ति दिएको भन्दै प्रश्न गर्नुभयो ।
नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले सीमासम्बन्धी प्रतिनिधिसभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शिर निहुरिएको टिप्पणी गर्नुभयो । उहाँले नेपाल सार्वभौमसत्ता देश भएको उल्लेख गर्दै देशको हित विरोधी अभिव्यक्ति स्वीकार्य नहुने अभिव्यक्ति दिनुभयो ।
प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभव्यिक्ति दिनुभएको थियो ।


