
संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथांका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार दिउँसो सडकमाथिको भिरालो भागबाट ठूलो परिमाणमा ढुंगा, माटो तथा गेग्रान खसेपछि उक्त सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । पहिरोले करिब १५ मिटर सडक पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरो खसेसँगै उक्त मार्ग हुँदै आवतजावत गरिरहेका यात्रु तथा सवारी साधन प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रमाद मैनालीले पहिरोको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिए पनि पहिरो खस्ने क्रम पूर्ण रूपमा नरोकिएकाले सडक खुलाउन नसकिएको बताउनु भयो ।
स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । खाँदबारी–किमाथांका सडकखण्ड जिल्लाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने मुख्य सडक सञ्जाल हो ।
सडक अवरुद्ध हुँदा भोटखोला क्षेत्रका स्थानीयवासी, यात्रु तथा अत्यावश्यक सामग्री बोकेका मालवाहक सवारी साधनसमेत प्रभावित भएका छन् ।
उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङले पछिल्लो समय सडक आसपासका भिरालो क्षेत्रमा सुख्खा पहिरो खस्ने घटना बढ्दै गएका बताउनु भयो ।


