२०८३ जेठ १५ शुक्रवार , ११:२८:१३ बजे

Sajhamanch
'

गणतन्त्र राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा : राष्ट्रपति पौडेल

शुक्रवार, जेठ १५, २०८३

काठमाडौं । रामचन्द्र पौडेल ले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता दिएको भन्दै यसलाई राष्ट्र निर्माणको महान् प्रेरणा र अभिभारा भएको बताउनु भएको छ ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले देशवासीलाई एकताबद्ध बनाएको, साझा राष्ट्र निर्माणको संकल्पमा अभिप्रेरित गरेको तथा नागरिकलाई आफ्नो जाति, भाषा, धर्म, संस्कृति र भूमिमाथिको स्वामित्वको अनुभूति दिलाएको उल्लेख गर्नुभयो।

‘गणतन्त्र फगत एउटा व्यवस्था मात्र होइन, यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसका आफ्नै मूल्य, मान्यता र नैतिक दायराहरू छन् । ती नबुझी इतिहासको अभिभारा पूरा गर्न सकिँदैन ।’

उहाँले गणतन्त्रको मर्यादा जोगाउन तथा यसलाई थप समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता र आचरणमा परिवर्तन आवश्यक रहेको बताउनु भयो। सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यासमा अघि बढ्न गणतन्त्र दिवसले थप प्रेरणा दिएको उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मुलुकमा हाल बनेको बलियो जनादेशसहितको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। सरकारले अघि सारेका शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन भएपछि जनतामा आशा जाग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

राजनीतिक परिवर्तन मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उहाँले राज्यसत्ताको चरित्र, राजनीतिक संस्कार र शासकीय व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताउनु भयो। ‘आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति हुन्,’ उहाँले भन्नुभयो।

नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र संसारकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको दाबी गर्दै नेपालको संविधानले यसलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक समाजवादका मान्यतामार्फत अझ उन्नत बनाएको बताउनु भयो।

‘यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ र राज्यशक्तिको स्रोत नागरिक नै हुन् भन्ने स्थापित गरेको छ,’ उहाँले भन्नुभयो।

स्थानीय र प्रदेश सरकारमार्फत नागरिकको घरआँगनमै सार्वभौमिकताको अभ्यास भइरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता व्यवहारमै कार्यान्वयन भइरहेको धारणा राख्नुभयो।

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापना, लोकतन्त्र, नागरिक स्वतन्त्रता र जनअधिकारका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै आन्दोलनका क्रममा जेल, नेल, निर्वासन र यातना सहेर पनि लोकतन्त्रको पक्षमा सङ्घर्ष गर्ने सबै आन्दोलनकारीप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा रामसहायप्रसाद यादव, बालेन शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर